काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालले प्रदेश १ को नाम कोशी राखेकोप्रति आपत्ति जनाएको छ ।
जसपाको प्रदेश १ समिति र पहिचानमा आधारित राष्ट्रिय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी नामकरणको विरोध गरेका हुन् ।
प्रदेशको नाम ऐतिहासिक थातथलो, भाषा, संस्कार संस्कृति र सभ्यताको पहिचानलाई सम्बोधन हुने गरी लिम्बुवान किरात शेर्पालुङ प्रदेश हुनुपर्छ भन्ने मत जसपा, नेपालले राख्दै आएको छ। ऐतिहासिक पहिचानको आधारमा प्रदेशको नामकरण नभएसम्म संघर्ष चर्काउने विज्ञप्तिमा उल्लेख छ ।
पहिचानमा आधारित राष्ट्रिय समितिले पनि विज्ञप्ति जारी गरी षड्यन्त्रपूर्वक कोशी प्रदेश नामकरण पछि त्यो क्षेत्रको राजनीतिक कोर्स परिवर्तन भएको र यस भूमिमा विद्रोहको दीर्घकालिन बिजारोपण गरेको उल्लेख छ ।
साथै जसपा, नेपालको सांसदलाई मत दिन वञ्चित गरिएको भन्दै यस बारेमा सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायसँग विज्ञप्तिमार्फत माग गरिएको छ ।