images

प्रधानमन्त्री नबन्ने प्रचण्डको घोषणाले दिएको राजनीतिक सन्देश के ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टीका गतिविधिमा सक्रिय छन् । विगतमा पार्टीले प्राप्त गरेको जनमत कमजोर बन्दै गएपछि फेरि पार्टी रूपान्तरणको अभियान अघि बढाउने दाहालको तयारी छ । सत्ताबाट एकाएक बाहिरिएपछि माओवादी यति बेला कमजोर स्थितिमा छ । अर्कोतर्फ जनतामा पार्टीको उपस्थिति झनै नाजुक नै छ । कुनै बेला मुलुकको ठुलो दल बनेको पार्टी अहिले तेस्रो दलको रूपमा खुम्चिनुपरेको छ । यही बेला दाहालले सत्ता निर्माणका गतिविधिमा संलग्न नहुने भन्दै नेताहरूलाई आश्वस्त पार्न खोजिरहेका छन् ।

सत्ताको कुर्सीबाट एकाएक बाहिरिनुपरेपछि सबैभन्दा बढी तनावमा छन् माओवादी अध्यक्ष पुष्पकमल दाहाल । सरकारबाट यति छिट्टै बर्हिगमित भइएला भनेर दाहालले सायदै सोचेका थिए । तर, उनका गतिविधिले यो अवस्था सिर्जना ग¥यो । सरकारबाट बाहिरिनुपरेको पीडाले दाहाललाई जनतामा जान बाध्य बनाइदिएको छ । त्यसैले उनी जनतामा जाने तयारीमा छन् । त्यति मात्र होइन, यो कार्यकालमा आफू सरकार निर्माणमा संलग्न नहुने दाहालले घोषणा नै गरेका छन् ।

सशस्त्र युद्धबाट शान्तिपूर्ण राजनीतिमा आएपछि नेकपा माओवादी केन्द्र कुनै न कुनै रूपमा सत्तामै छ । विगतदेखि नै पार्टी सत्ता निर्माणमा निर्णायक भूमिकामा रहँदै आएको छ । सत्ता निर्माणमा महत्त्वपूर्ण भूमिका हुने भएपछि सत्ताको कुर्सीमा बहाल नहुने कुरै भएन । कहिले आफ्नै पार्टीको नेतृत्वमा त कहिले अन्य पार्टीको नेतृत्वमा पार्टी सरकारमै सहभागी हुँदै आएको छ । तर, पछिल्लो समय भने माओवादीको म्याजिकल नम्बरमा तुरुप लागेको छ । मुलुकका दुई ठुला दल मिलेर सत्ता निर्माण गरेपछि माओवादी सत्ताबाट नचाहँदा नचाहँदै बाहिरिन पुग्यो । पार्टी अध्यक्ष पुष्पकमल दाहालले यति चाँडै सत्ताबाट बर्हिगमित हुनुपर्ला भनेर सोचेका पनि थिएनन् । उनका गतिविधि र व्यवहारले त्यो अवस्था सिर्जना गरेकोमा कुनै दुई मत नै छैन । यही बेला अध्यक्ष दाहाल पार्टी निर्माणको अभियानमा अघि बढ्ने रणनीतिमा अघि बढेका छन् । त्यसका लागि उनले जनतामा जाने निर्णय नै गरेका छन् । यहीबिचमा उनले पटक पटक आफू सत्ता निर्माणको खेलमा नलाग्ने दाबी पनि गर्दै आइरहेका छन् ।

दाहालले जनता रिझाउन जस्तोसुकै कुरा बोले पनि उनका गतिविधिले भने त्यो देखाउँदैन । किनभने काँग्रेस–एमाले समीकरण बन्ने निश्चित हुँदासम्म पनि दाहालले प्रधानमन्त्रीको कुर्सी छाडेनन् । बरु यो समीकरणलाई नै चुनौती दिन प्रधानमन्त्रीको कुर्सीमै बहाल भए । तर अन्तिममा उनको सपना साकार भएन । अहिले केही सिप नलागेपछि उनी जनतामा जानुबाहेक अर्को विकल्पमा रहेनन् । त्यसैले अबका दिनमा सत्ताको गोल चक्करमा नलाग्ने दाबी गरिरहेका छन् । अवसर आएको खण्डमा भने त्यसलाई दाहालले सहजै नकार्न सक्ने स्थिति भने छैन । विगतमा उनले सत्ताका लागि चालेका कतिपय कदमहरूले त्यो सङ्केत देखाइसकेको छ । तर, राजनीतिक गतिविधि धेरै अघि बढिसकेको हुनाले दाहालले चाहे पनि सत्तामा ठाउँ पाउने अवस्था छैन । विभिन्न दलसँगको सहकार्य धोकामा परिणत भएपछि दाहाललाई काँध थाप्नेहरू अलग हुन थालेका छन् । काँग्रेस–एमाले सहकार्य पनि त्यसकै गतिलो उदाहरण हो । अहिले दाहालले सत्ता निर्माणको गोल चक्करमा नफस्ने दाबी गर्नु कति उचित हो ? प्रश्न उठेको छ ।

दाहाल जति बेला आफू कमजोर भएको महसुस गर्छन् त्यति बेला जनता सम्झिन्छन् । जनता फकाउने मेहनत गर्छन् । अहिले फेरि त्यही अवस्था देखिएको छ । अब दाहाल अवस्था परिवर्तनकै लागि जनतामा केन्द्रित हुन्छन् या आफू बलियो हुनकै लागि केन्द्रित हुन्छन् ? त्यो हेर्न भने बाँकी नै छ ।