images

प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि शुक्रवार बझाङ जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोली शुक्रवार बझाङकाे भूकम्प प्रभावित क्षेत्रमा जाने भएका छन् ।

प्रधानमन्त्री मंगलबार गएको भूकम्पले पुर्‍याएको क्षतिको अवलोकनका लागि शुक्रवार भूकम्प प्रभावित क्षेत्रमा जाने कार्यक्रम तय भएको उनको सचिवालय जनाएको छ ।

बिहीवार बिहान मात्रै सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को बैठक बसेको थियो ।

बैठकमा उनले एकपटक बझाङमै गएर प्रत्यक्ष अवलोकन गरी थप राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम गर्ने बताएका थिए ।

‘परिषद्को अध्यक्षको नाताले पनि र प्रधानमन्त्रीको नताले पनि एकपटक बझाङमै गएर प्रत्यक्ष अवलोकन गर्ने र त्यो रिपोर्ट आइसकेपछि स्टेप चाल्छौं,’ उनले बैठकमा भनेका थिए ।

मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङ केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी एक जना महिलाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।