images

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच सरकारको नीति तथा कार्यक्रमका सम्बन्धमा छलफल भएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा मङ्गलवार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ । तर, कांग्रेसले संसद्को अवरोध जारी राखेको अवस्थामा कसरी अघि बढ्ने भन्ने विषयमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच टेलिफोन वार्ता भएको हो । सभामुख घिमिरेले राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयासबारे जिज्ञासा राखेका थिए ।

प्रधानमन्त्रीले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल भएको भन्दै सत्ता घटक दलहरूसँग पनि विपक्षीका मागबारे छलफल भएको जानकारी गराएका थिए । सोमबार साँझसम्म निष्कर्षमा पुगिने दाहालको भनाइ छ । सभामुखले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग आइतबार छलफल गरेका थिए ।

छलफलमा सभामुखले नीति तथा कार्यक्रम र बजेटलाई राजनीतिक दाउपेचभन्दा टाढै राख्न सुझाव दिएका थिए । उनले नीति तथा कार्यक्रम संसद्भन्दा बाहिरबाट ल्याउने परिकल्पना र अभ्यास नभएको उल्लेख गर्दै राजनीतिक सहमतिमा जोड दिइरहेका छन् । नेपाली कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै संसद् बैठक अवरोध गर्दै आइरहेको छ ।

यसैबीच सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ । सरकारको नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा भेटवार्ता भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।