काठमाडौं । संसद भवन अगाडी इलामका प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको घटना यतिबेला चर्चा र बहसको विषय बनेको छ ।
आत्मदाह गर्नुअघि आचार्यले आफ्नो सामाजिक सञ्जालमा लेखेको स्ट्याटस पढ्दा उनले स्वदेशमै जीविकोपार्जनका लागि गर्नुपर्ने सबै प्रयत्न गर्दा गर्दै पनि केही सीप नलागेपछि आत्मदाहको बाटो रोजेको देखिन्छ । तर, जिम्मेवार ओहदामा बसेका व्यक्तिहरु भने समाधानको बहस र पैरवी गर्नुको साटो सामाजिक सञ्जालमा स्ट्याटस लेख्न व्यस्त छन् ।
अनेकन थरीका भावनात्मक स्ट्याटस लेखेर श्रद्धाञ्जली दिनुबाहेक प्रेमप्रसादको मृत्युले राज्यलाई छोएको देखिदैन ।।
संसद भवन अगाडी इलामका प्रेमप्रसाद आचार्यले आत्मदाहको प्रयास गर्छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखे अनुसार स्वदेशमै जीविकोपार्जनका लागि गर्नुपर्ने सबै प्रयत्न गर्दा गर्दै पनि केही सीप नलागेपछि उनले आत्मदाहको बाटो रोज्छन् ।
राज्यसत्ता र भ्रष्ट व्यवस्थाप्रति जनताको चरम वितृष्णाको यो भन्दा अर्को पनि कुनै रुप होला र ? आचार्यको शरीरमा आगो दनदनी बलिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्किँदै थिए । सार्वभौम राज्यमा नागरिक सडकमा जलिरहँदा यहाँको अभिभावकले नदेखेझैँ गरिरहेको छ ।
आचार्यले आत्मदाह गरे पश्चात सामाजिक सञ्जालमा पनि विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । नेपाल सरकारका गृहमन्त्री रवि लामिछाने स्वयम्ले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै यो घटना प्रति राज्य र स्वयम् आफै पनि दोषि रहेको बताएका छन् । राज्यप्रति जनताले चरम निराशा पोखेर गम्भीर निर्णय लिँदा समेत लामिछानेले जिम्मेवार पदमा बसेर आफ्नो सस्तो लोकप्रियता जोगाउन कुनै कसर छोडेनन् ।
त्यसैगरी काठमाडौं महानगरका मेयर बालेन्द्र शाह पनि सामाजिक सञ्जालमा एकजना नागरिक संसद भवनको अगाडि आफुमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् भने त्यसको सबै भन्दा ठुलो कारण राज्य भएको लेख्छन् । उनले यो राज्यको चरम असफलताको भयानक संकेत भएको टिप्पणी गरेका छन् ।
त्यस्तै व्यवसायी एवम् एमाले नेता दुर्गा प्रसाईँले आफ्नो सामाजिक सञ्जाल मार्फत आचार्यले आत्महत्या गरेको नभई राज्यले उनको हत्या गरेको आरोप लगाएका छन् ।
हास्य व्यङ्य कलाकार मनोज गजुरेलले आफ्नो सामाजिक सञ्जालमा आचार्यले लेखेको सचेतपत्रले भने जस्तै “१० प्रतिशतको हातमा रहेको विश्वको सत्ता, शक्ति र सम्पती ९० प्रतिशतलाई बाँड्ने अन्तर्राष्ट्रिय कानुन नबनेसम्म संसारको जुनसुकै देशको संसद भवनअगाडी यस्ता घटना दोहोरिन सक्छन् । भन्दै सरकारलाई सचेत गराएका छन् ।
त्यसै गरी कलाकार दीपक गिरिले प्रेमले आत्मदाह गर्दै जलिरहँदा ‘त्यस्को धूवा‘ सिहदरवार र संसद भवनसम्म पुगेको हुनुपर्छ भन्दै कटाक्ष गरेका छन् ।
राज्य प्रति जनताको चरम वितृष्णाको यो गम्भीर र फरक घटना हो । तर, पहिलो भने होइन । यसअघि पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि सार्वजनिक कार्यक्रम मै एक जना व्यक्तिले जुत्ता प्रहार गरेका थिए । भने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि सार्वजनिक कार्यक्रममै भापड खाएका थिए ।
बाबुराम भट्टराई देखि सुशील कोईरालालगायतका नेताहरुले पनि जनताको आक्रोश र वितृष्णाको थप्पड खाएका छन् । सरकार र सत्ता प्रति जनताले विभिन्न समयमा पटक पटक वितृष्णा पोखिरहेका छन् ।
जनताले देशमा काम गरिरहँदा व्यवस्थाप्रति लड्दा लड्दै बाँच्नु भन्दा आत्मदाह गर्नु नै उचित ठान्छन् भने यो राज्यले जनता माथि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गरेको शोषण हो, दमन हो चरम भ्रष्ट्राचारको पराकाष्ठा हो ।
स्वदेशमै गरी खाने वातावरण नबन्दा जनता विदेश पलायन हुन्छन् की, आत्मदाहको बाटो रोज्छन् । देशमा भएको चरम बेथिति र भ्रष्ट सरकारप्रति जनताको वितृष्णाको यो भन्दा अर्को रुप के हुन सक्ला र ? त्यसैले अब अरु प्रेमहरुले व्यवस्थाले दिएको दुःखले आत्मदाह गर्न नपरोस् भन्नका खातिर सरकार चनाखो हुनै पर्छ ।
उठाइएका कुराहरु राज्यले सम्बोधन गर्नु पर्ने कुराहरु नै हुन् । तर राज्य र सरकार प्रति वितृष्णा पोख्ने माध्यम र विकल्प आत्मदाह भने कदापि होइन । भ्रष्ट्राचारविरुद्ध फरक माध्यमबाट अझै शसक्त रुपमा आवाज उठाउन सकिन्छ । यसतर्फ सबैको ध्यान जान जरुरी छ ।