images

शान्ति प्रक्रियाका बाँकी काम अविलम्व पूरा गर्न माओवादी धारका ९ दलको अपील

काठमाडौं । माओवादी धारका ९ राजनीतिक दलहरुले आवश्यक कानून बनाई शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकार समक्ष अपील गरेका छन् ।

आईतवार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत संयुक्त अपील जारी गर्दै माओवादी धारका ९ राजनीतिक दलहरुले आवश्यक कानूनहरु बनाई अविलम्व शान्ति प्रक्रियाका बाँकी कामहरु पूरा गर्न सरकारलाई अपील गरेका हुन् ।

दलहरुले विस्तृत शान्ति सम्झौता र नेपालको संविधानले द्वन्द्वकालिन घटनाहरुको निरुपण गर्ने जिम्मेवारी सत्य निरुपण तथा मेलमिलाप आयोगलाई दिएको भन्दै संवैधानिक व्यवस्था भन्दा बाहिर जानु शान्ति सम्झौताका बिरुद्ध हुने बताएका छन् ।

यसरी संयुक्त रुपमा अपील गर्नेहरुमा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी–माओवादी), नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी र आम जनता पार्टी रहेका छन् । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी(बहुमत), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी(माओवादी समाजवादी) र माओवादी कम्युनिष्ट पार्टी, नेपाल पनि रहेका छन् । उनीहरुले कानून परिमार्जनसहित आयोगलाई पूर्णता दिई शान्ति प्रक्रियाका बाँकी काम यथाशिघ्र पूरा गर्न सरकारसँग माग गरेका छन् ।

९ दलले विस्तृत शान्ति सम्झौताका पक्षधर राजनीतिक दलहरु, नागरिक समाज एवं आम समुदायलाई संक्रमणकालिन न्यायको पक्षमा ऐक्यवद्धताका लागि अपील समेत गरका छन् । त्यस्तै विगतमा राज्यले विभिन्न राजनीतिक दलहरुसँग गरेका सहमति कार्यान्वयनका लागि पनि सरकार सँग माग गरेका छन् ।