images

सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने तयारी

काठमाडौं– सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन सत्ता गठबन्धनका दलहरू सहमत भएका छन् । प्रदेश प्रमुख नाजिर मियाँले मुख्यमन्त्रीका लागि यसअघि परेका दुवै दाबी अस्वीकृत गर्दै बिहीबार सम्मको समय दिएर फेरि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका हुन् ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मण किशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा तथा नागरिक उन्मुक्तिकै रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले माओवादी र एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

एकीकृत समाजवादीले आफ्नो समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखलाई बुझाई सकेको छ । प्रदेश प्रमुखले दुवै दाबी अस्वीकृत गरेपछि सत्तारुढ गठबन्धनको सहमतिअनुसार एकीकृत समाजवादीका सोडारीले मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने तयारी गरेका छन्। सुदूरपश्चिमका कारण केन्द्रको सत्ता गठबन्धन पनि अप्ठ्यारोमा पर्न सक्ने जोखिम बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग कुरा गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने प्रतिबद्धता जनाएपछि समाधान निकालिएको हो ।