images

सुनसरीको बर्जु गाउँपालिकामा दादुरा फैलियो, १० हजार बालबालिकालाई एकसाथ खोप लगाइँदै

काठमाडौं । सुनसरीको बर्जु गाउँपालिकामा दादुरा संक्रमित फेला परेका छन् ।

दुई साताको अवधिमा बर्जुमा २९ जना दादुरा पोजेटिभ पाइएका हुन् । बर्जुमा पहिलो पटक २ नम्बर वडामा ७ महिने शिशुमा दादुरा पुष्टि भएको थियो । हाल उक्त गाउँपालिकाको ६ मध्ये ४ वटा वडामा दादुरा संक्रमित बिरामी फेला परेका छन् । जसमध्ये केही वयश्क व्यक्ति समेत रहेका छन् ।

योसँगै गाउँपालिकाको एकै स्थानमा एकसाथ ५ जना भन्दा बढी दादुरा संक्रमित भेटिएसँगै स्वास्थ्य कार्यालय सुनसरीले आपतकालिन कार्य योजना अघि बढाएको छ । दादुरा फैलन नदिन स्वास्थ्य कार्यालय सुनसरीले एकसाथ १० हजार बालबालिकालाई दादुरा बिरुद्धको खोप लगाउने तयारी थालेको छ ।

प्रदेश १ सरकार, स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा स्थानीय निकायसँगको समन्वयमा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले बताए ।

२९ जना पोजेटिभ केस फेला परिसकेको बर्जुमा थप केही शंकास्पद केस परीक्षणको क्रममा रहेकाले संख्या थप बढ्नसक्ने स्वास्थ्य कार्यालय सुनसरीको अनुमान छ । दादुरा तिब्र संक्रमण फैलने र जटिल प्रकृतिको रोग भएकाले फैलन नदिन रोकथामका सबै उपाय अविलम्व अवलम्वन गर्न लागिएको छ ।

कार्यालयका अनुसार बर्जुका सबै ६ वटै वडाहरुमा फागुनको १६ गतेबाट एकसाथ दादुरा बिरुद्धको खोप अभियान सञ्चालनमा ल्याइनेछ ।