
काठमाडौंः निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा सुरुङ मार्ग दशैँ अघि नै संचालन गर्ने तयारी गरिएको छ । २०७६ साल कात्तिकबाट निर्माण सुरु भएको नागढुंगा सुरुङ मार्ग सम्पन्नको चरणमा पुगेको छ । दसैंअघि नै सम्पूर्ण कार्य पूरा हुने आयोजनाले जनाएको छ ।
दसैंमा काठमाडौंबाट बाहिरिने र भित्रिने यात्रुलाई सुरुङमार्गबाटै आवतजावत गर्न सहज बनाउने तयारी गरिएको छ । सुरूङ मार्ग ०७६ कात्तिक ४ बाट निर्माण सुरू भएको थियो । सुरुमा ४२ महिनामा सक्ने लक्ष्य थियो । जसअनुसार ०८० वैशाखसम्म सम्पन्न गर्नुपर्ने सम्झौता थियो ।
आयोजनामा कोभिड तथा स्थानीयले पटक–पटक अवरोधका कारण म्याद थप भइरह्यो । सुरूङमार्गबाट सिस्ने खोला पुग्न बलम्बु करिब ७ मिनेट यात्रा गर्नुपर्नेछ । सिस्ने खोलाबाट नागढुंगा सडक हुँदै बलम्बुसम्म आइपुग्न औसत ३३ मिनेट बढी लाग्ने गरेको छ । हाल फिनिसिङका कामहरु भइरहेका छन् ।
यसपटकको दसैंमा सुरुङमार्गबाट घर जान पाइनेछ । सुरुङमार्गबाट यात्राको लागि सरकारले दस्तुर तोकिसकेको छ । कार तथा भ्यानहरूले काठमाडौं आउँदा ६५ रुपैयाँ र बाहिर जाँदा ६० रुपैयाँ तिर्नुपर्ने छ । मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तोकिएको छ । बस र ट्रकले काठमाडौं आउँदा २६० र जाँदा २ सय रुपैयाँ तिर्नुपर्नेछ ।
भारी उपकरणका बोक्ने साधन काठमाडौं आउँदा ६ सय र जाँदा २५० लाग्नेछ । सुरुङमार्गबाट मोटरसाइकल, इन्धन बोक्ने सवारीसाधान चल्न निषेध गरिएको छ । सुरुङ मार्गको औपचारिक सञ्चालन भने २०२६ बाट हुने सडक विभागले जनाएको छ ।