
काठमाडौँ । ‘गोल्छा ग्रुपले प्रस्तुत गरेको ग्लोकल टिन हिरो नेपाल २०२५’ को प्रतिष्ठित उपाधि कृष यादवलाई प्रदान गरिएको छ । धनुषाको कचूरीका १७ वर्षीय कृष यादवलाई सोमबार ग्लोकल प्रा.लि. द्वारा आयोजित एक कार्यक्रमका बिच सम्मान गरिएको हो । यादवले सामाजिक अभियान संगै सामग्री निर्माता – कन्टेन्ट क्रियटर) को काम गर्दै आएका छन् ।
प्रतियोगितामा कृषले शीर्ष ६ जना अन्तिम प्रतिस्पर्धीहरूमध्येबाट आफूलाई अब्बल साबित गर्दै उपाधी जितेका हुन् । अन्य फाइनलिस्टहरूमा सुश्री मानुषी न्यौपाने निश्चल ढुङ्गाना, अक्सफोर्ड आचार्य, सुश्री रेनुका सिंह र सफल पौडेल रहेका थिए ।
एक दशकदेखि, ग्लोकल टिन हिरो पहलले शैक्षिक क्षेत्रमा मात्र नभई अन्य विविध क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने किशोर–किशोरीहरूलाई चिनाउँदै आएको छ । यसले युवा प्रतिभाहरूलाई आफ्नो असाधारण क्षमता प्रदर्शन गर्ने मञ्च प्रदान गर्ने विश्वास गोल्छा ग्रुपले दिएको छ । उनीहरूको सिर्जनात्मकता, उत्साह र पहललाई गहिरो रूपमा कदर गर्दै किशोर–किशोरीहरूलाई स्थानीय र विश्वव्यापी रूपमा सकारात्मक परिवर्तनका संवाहक बन्न सशक्त बनाउने बताईएको छ ।
को हुन् कृष यादव ?
कृष यादव एक १७ वर्षीय सामाजिक रूपमा जिज्ञासु कन्टेन्ट क्रिएटर हुन्, जसलाई समाजको कार्यप्रणाली र विकास प्रक्रियाबारे गहिरो रुचि छ । सामाजिक विज्ञानमा बलियो पृष्ठभूमि भएका उनले विभिन्न रचनात्मक टोलीहरूको नेतृत्व गरेका छन्, सार्वजनिक बहसहरू सञ्चालन गरेका छन् र राष्ट्रिय महत्त्वका मुद्दाहरूमा वृत्तचित्रहरू निर्माण गरेका छन् ।
कृषले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् र नीति–केन्द्रित पहलहरूका लागि स्थानीय सरकारहरूसँग काम गरेका छन् । उनी कथावाचन, शिक्षा र सामाजिक अनुसन्धानमा सक्रिय एक गतिशील किशोर नेता र सामग्री निर्माता हुन् ।
उनी TNC Unscripted नामक युट्युब च्यानलमा प्रसारित हुने रियालिटी बहस कार्यक्रम ‘TNC Debates’ का होस्ट र निर्माता हुन् । यसका साथै, १५ हजार ५ सय भन्दा बढी सब्सक्राइबर रहेको यस च्यानलमा चारवटा मौलिक कार्यक्रमहरूको रचनात्मक निर्देशनमा पनि उनले सह–नेतृत्व गरेका छन ।
उनी हिमालयन भाषाविज्ञान ओलम्पियाड नेपालका राष्ट्रिय कार्यक्रम संयोजकका रूपमा पनि सेवा गर्छन्, जसले भाषाविज्ञान र एआई सम्बन्धी राष्ट्रिय ओलम्पियाडहरू आयोजना गर्न र युवाहरूमा समस्या समाधान गर्ने सीपलाई बढावा दिन मद्दत गर्छ । ‘प्रोजेक्ट विवेक’ मार्फत, उनले शिक्षा प्रणाली र यसको सामाजिक प्रभावबारे धारणा पत्ता लगाउन काठमाडौँ उपत्यकाका ४८० भन्दा बढी विद्यार्थीहरूको सर्वेक्षण गरेका छन् । उनी हाल एक समाजशास्त्रीको सल्लाहमा यस अनुसन्धानमा आधारित एक शैक्षिक पत्र विकास गर्दैछन् ।
छनोट प्रक्रिया र निर्णायक मण्डल
ग्लोकल टिन हिरो नेपालको अन्तिम चरणका लागि शीर्ष ६ जना प्रतिस्पर्धीहरूलाई उनीहरूको उपलब्धि, पहल, योगदान र कार्यको प्रभावका आधारमा छोटो सूचीमा राखिएको थियो । अन्तिम प्रतिस्पर्धीहरूले विभिन्न विषयमा आत्म–क्षमता कार्यशालाहरूको शृङ्खलामा पनि भाग लिए र उद्योगका नेताहरू तथा कर्पोरेट व्यक्तित्वहरूसँग आफ्नो ज्ञान बढाउने अवसर प्राप्त गरे ।
अन्तिम छनोटको काम प्रतिष्ठित निर्णायक टोलीले गरेको थियो, जसमा कोका–कोला नेपालकी कन्ट्री डाइरेक्टर सुश्री चन्द्रिका कालिया, WWF नेपालका कन्ट्री डाइरेक्टर डा. घनश्याम गुरुङ, गोलछा ग्रुपकी निर्देशक सुश्री सीमा गोल्छा, VOITH का अध्यक्ष श्री सुरज वैद्य र नेपालका लागि युरोपेली सङ्घका चार्ज डी’अफेयर्स श्री थोमस मिलर रहेका थिए। किशोर–किशोरीहरूलाई उनीहरूको आवेदन, रिजुमे, सहयोगी कागजात र उनीहरूको उपलब्धिका बारेमा लेखिएका निबन्धका आधारमा छनोट गरिएको थियो। उनीहरूलाई उनीहरूको सिर्जनात्मकता, उपलब्धि, प्रभाव र सबैभन्दा महत्त्वपूर्ण कुरा, उनीहरूको कामको दिगोपनाका आधारमा मूल्याङ्कन गरिएको थियो ।