images
images

 चीनलाई १० विकेटले पराजित गर्दै नेपाल सेमीफाइनलमा

काठमाडाैं । मलेसियामा मंगलबारदेखि सुरु भएको एसीसी अन्डर-१९ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले चिनलाई १० विकेटको विशाल अन्तरले पराजित गरेको छ।

जितसँगै नेपाल प्रतियोगिताको सेमीफाइनल पनि प्रवेश गरेको छ। चिनले पहिलो खेलमा सिंगापुरसँग हार बेहोरेको हुँदा जित विहिन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

१/१ जित हात पारेको सिंगापुर र नेपाल समुह ‘ए’ बाट सेमीफाइनल प्रवेश गरेका हुन्। नेपाल र सिंगापुरबीच जुलाई ५ तारिकमा हुने खेलले समुह ‘ए’ को विजेता तय गर्नेछ।

किन्नरारा ओभलमा सम्पन्न खेलमा टस जितेर नेपालले बलिंग गरे पछि चिनले २३.१ ओभरमा सबै विकेट गुमाएर ५३ रन बनाएको थियो। ५४ रनको लक्ष्य नेपालले मात्र ५ ओभरमा पुरा गर्यो।

चाँडै नै नेपाललाई जिताउन ओपनिङ ब्याटिङ गरेका पवन सर्राफले अविजित ४६ रन बनाउन विस्फोटक ब्याटिङ गरे। उनले २१ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। यस क्रममा उनले अन्तिम ओभरमा लगातार बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए। यस्तै रित गौतमले अविजित १० रन  (१० बलमा १ चौका) बनाए।

Pawan Sarraf

सागरको उत्कृस्ट बलिङ 

टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चिनले ५३ रनमा सम्पूर्ण विकेट गुमाउँदै नेपाललाई ५४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। चिन ओपनर गुहाओ गाओ र लियाङ चेनले समान १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पहिलो विकेट छैठौं ओभरमा १८ रनको योगफलमा गुमाएको चिनले त्यसपछि लगातार विकेट गुमाएको थियो।

नेपालको बलिङमा देब्रे हाते स्पिनर सागर ढकालले सर्वाधिक ६ विकेट लिए। ढकालले ९.१ ओभरमा ३ मेडन ओभर गर्दै १९ रन खर्चिए। यस्तै लेग स्पिनर तिलक राज भण्डारीले ३ विकेट लिन ७ ओभरमा ३ मेडन ओभर गर्दै १५ रन खर्चिए। कमल सिंह ऐरीले १ विकेट  लिंदा प्रतिस जिसी विकेट विहिन रहे। सागर खेलको प्लेयर अफ द म्याच समेत चुनिए ।