images

सन्दीप काठमाडौं एअरपोर्ट टेके लगत्तै पक्राउ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि छानबिन शुरु भएको छ ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर उनलाई प्रहरी वृत्त गौशाला राखिएको छ । दोहाबाट कतार एयरवेजको जहाज चढेर आज बिहान काठमाडौं ओर्लिएलगत्तै प्रहरीले पक्राउ गरेको हो । कालो मास्क, कालो क्याप र सेतो ट्र्याकसुटमा रहेका उनलाई प्रहरीले हत्कडी लगाइएको थियो ।

गत भदौ २१ गते एक नाबालिकालाई गौशालाको होटलमा राखेर बलात्कार गरेको आरोप उनीमाथि लागेको छ । क्यारेबियन लिग खेल्न नेपाल बाहिर रहेका बेला उनीविरुद्ध गौशाला प्रहरीमा उजुरी परेको थियो ।

सन्दीप समस्यामा

त्यसो त सन्दीप लामिछाने माथि लागेको बलात्कारको आरोपका विषयमा पक्ष र विपक्षमा बहस भइरहेको छ । तर, जसै उनी नेपाल फर्किए उनको पक्षमा समर्थन जनाउनेहरु पनि विमानस्थलमा स्वागतको लागि उपस्थित भएनन् । किनकि, उनी माथि बलात्कार जस्तो गम्भीर आरोप लागेको छ । जसले गर्दा एउटा क्रिकेटरको हिसाबले उनले जति माया र सम्मान पाएका थिए, नाबालिग बलात्कारको आरोप लागेपछि भने उनका समर्थकहरु पनि मौन देखिएका छन् ।

एक समय थियो, क्रिकेटर सन्दीप लामिछाने स्वदेश फर्किँदा सयौँ समर्थक, हातमा खादा, माला र बाजागाजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला हुन्थे । तर तीनै सन्दिप बिहीबार नेपाल फर्कँदा दृश्य फरक देखियो ।

व्यक्ति उनी नै थिए । तर, अवस्था भने फरक । पहिले अन्तर्राष्टियस्तरमा उनले गरेको प्रदशर््ान केन्द्रमा हुन्थ्यो । तर, अहिले खेल खेलेरै फर्किए पनि, किशोरी बलात्कारको आरोपले त्यसलाई ओझेलमा पारिदिएको छ ।

सम्भवत, नेपाली खेलकुद जगत्मा अन्तर्राष्ट्रियस्तरमा छोटो समयमै सर्वाधिक चर्चा कसैले पाएका छन् भने ती सन्दीप लामिछाने नै हुन् । उनले ६ वर्षको अवधीमा नै राष्ट्रियदेखि हरेक क्रिकेटरको सपनाका रुपमा रहने ठूला–ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत आफूलाई उभ्याउन सफल भएका थिए । तर, उनी जसरी शिखरमा पुगे, किशोरी बलात्कारको आरोपले त्यसरी नै सबै सफलताको शिखरबाट झारिदिएको छ । अब उनको क्रिकेट करिअर पुन लयमा फर्किएला या उदाउदो अवस्थामानै अस्थाउला यसको जवाफ अदालतको फैसला सम्मका लागि अनुत्तरित नै रहनेछ ।