images

कांग्रेसलाई विपक्षी दलको मान्यता दिएपछि राजनीतिमा तरंग

नरेन्द्र महतारा, काठमाडौं । संघीय संसद सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्ष दलको मान्यता दिएको छ । सरकालाई विश्वासको मत दिएको कांग्रेसलाई विश्वासको मत दिएपछि सचिवालयको भूमिकामाथि नै प्रश्न उब्जिएको छ ।

सचिवालयले कांग्रेसलाई लेखेको पत्रमा प्रतिनिधि सभामा प्रतिपक्षी दलको मान्यता दिइएको भनेर प्रस्ट छैन तर, संसदमा विपक्षी दलले पाउने सेवा सुविधा दिइएको छ ।

माघ ४ गते संघीय संसद सचिवालयले नेपाली कांग्रेस संसदीय दलको कार्यालयलाई सम्बोधन गर्दै एउटा पत्र लेख्यो । प्रमुख विपक्षी दलको नेताको सुविधा सम्बन्धमा लेखिएको सो पत्रमा प्रमुख विपक्षी दलको नेताको रुपमा शेरबहादुर देउवाले पाउने पारिश्रमिक र सेवा सुविधा पाउने कुरा उल्लेख गरिएको थियो । संसद सचिवालयको यो पत्रलाई लिएर फेरि प्रश्न उब्जिएको छ– ‘सरकारलाई विश्वासको मत दिने नेपाली कांग्रेस कसरी प्रमुख प्रतिपक्षी दल भयो ?’ प्रतिनिधि सभाका सभामुख र राष्ट्रपतिको निर्वाचनमा खेल्न सकिने ध्याउन्नमा रहेको नेपाली कांग्रेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहयोग नगरेपछि कांग्रेस चिढिएको छ । प्रतिनिधि सभामा बहुमतको बलमा आफू नै प्रतिपक्षी दल भएको कांग्रेसको जबर्जस्त दाबी छ ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को परिभाषाले अन्योल सिर्जना गरेपछि कांग्रेसले आफू नै विपक्षी दल रहेको दाबी गरिरहेको छ । कानुनमै स्पष्ट व्यवस्था नभएपछि कांग्रेसका लागि त्यो अस्त्र बनेको छ ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनको दफा २ को (ङ) मा ‘मन्त्रिपरिषद्को गठन गर्ने वा मन्त्रिपरिषद्को गठन गर्न समर्थन गर्ने दलबाहेक प्रतिनिधि सभा वा राष्ट्रिय सभामा १० प्रतिशत वा सोभन्दा बढी सदस्य भएको दलमध्ये सबैभन्दा बढी सदस्य भएको दल विपक्षी दल हुनेछ’ भनिएको छ  । सोही ऐनको दफा २ को खण्ड (ङ) को उपखण्ड (४) मा भनिएको छ– ‘मन्त्रिपरिषद् गठन गर्ने वा मन्त्रिपरिषद् गठन गर्न समर्थन गर्ने दल बाहेकका प्रतिनिधि सभामा १० प्रतिशत वा सोभन्दा बढी सदस्यहरु भएको कुनैपनि दल नभएमा प्रतिनिधि सभाका सभामुखले नै विपक्षी दल तोकिदिने व्यवस्था छ ।

तर, कानुनी र नैतिक रुपमा राजनीतिक इतिहासमै ठूलो गल्ती गरेको कांग्रेसले प्रमुख प्रतिपक्षी दलको मान्यता कसरी पायो ? विषय गम्भीर छ । कांग्रेसका सबै सांसदहरुले सरकारलाई विश्वासको मत दिइरहेका बेला प्रतिपक्षीको बेन्चमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी मात्र थिए । अहिले त्यही कांग्रेसलाई प्रतिनिधि सभाको प्रमुख प्रतिपक्षी दलको बेन्चमा बस्ने नैतिकता कसरी आयो ?