images

भारतिय प्रतिवन्धका कारण आधाले घट्यो चामल आयात

काठमाडौं । चालू आर्थिक वर्षको मध्यसम्ममा चामल आयात आधाले घटेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो छ महिनासम्ममा आठ अर्ब ८९ करोड ९२ लाख ६९ हजार रुपैँयाको चामल आयात भएको छ ।
गत वर्ष सो अवधिमा १७ अर्ब ६० करोड ६८ लाख एक हजार रुपैँयाको चामल आयात भएको थियो ।

भारतले गत भदौ महिनामा चामलको निर्यातमा लगाएको कर, विदेशी मुद्रा बचत गर्न आयातमा गरिएको प्रतिबन्ध र नेपाल राष्ट्र बैङ्कले एलसीमा नगद मार्जिनको व्यवस्था गरेका कारण चामलसँगै अन्य खाद्यान्नको आयातमा कमी आएको हो ।

आन्तरिक आपूर्तिलाई बलियो बनाउनका लागि भन्दै भारतले गत भदौ महिनामा चामल निर्यातमा २० प्रतिशत कर लगाएको थियो । त्यसको प्रभावले आयातमा कमी आएको छ ।

यो वर्ष धानको उत्पादन बढेकाले पनि आयातमा कमी देखिएको हो । भारतले धान र चामलमा कर बढाएका कारण आयातमा कमी आएको होे ।

विभागका अनुसार छ महिनामा नौ अर्ब ७३ करोड ४९ लाख १० हजार रुपियाँ बराबरको धान र धानको बीउ आयात भएको छ । यसै अवधिमा ६६ करोड रुपैँयाको गहुँ आयात भएको छ ।

गत आर्थिक वर्ष तीन अर्ब ४६ करोड ६२ लाख ७६ हजार रुपैँयाको गहुँ आयात भएको थियो ।

मन्त्रालयका अनुसार यो वर्ष धान उत्पादन ६ दशमलव ९४ प्रतिशतले बढेर ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन उत्पादन भएको छ ।