images

दसैँको मुख्य दिनः लगाइयो साइतको टीका

काठमाडौं । आज वडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाउने क्रम चलिरहेको छ ।

रातो टीकालाई शुभ साइतको प्रतीक र जमरालाई समृद्धिको प्रतीक मानिन्छ । साइत खोज्नेहरुले ११ बजेर ५३ मिनेटमा टीका लगाएका छन् । तर आज दिनभर र कोजाग्रत पूर्णीमासम्म टीका लगाउन सकिने छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइँदैछ ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी वडादशैँकै सबैभन्दा महत्वपूर्ण दिन हो । आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलावडाको हातबाट टीका, जमरा र आशीर्वाद लिइन्छ । देशका धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्मनै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ । तर नेपालका केही भागमा भने कुल, परम्परा अनुसार आजमात्र दुर्गा देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ ।

यसैबीच यसवर्ष प्रधानमन्त्री सुशीला कार्कीले टीका नलगाउने र आम नागरिकलाई पनि नलगाइदिने उनको सचिवालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले पनि आम नागरिकलाई टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।