images

अबदेखि क्यूआर कोडबाट दैनिक ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने

काठमाडौं । मोबाइल एप्लिकेसन तथा क्यूआर कोडबाट दैनिक कारोबार गर्न पाइने रकमको सीमा बढेको छ ।

नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै मोबाइल एप्लिकेसन तथा क्यूआर कोडबाट दैनिक ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने सुविधा कायम गरेको छ । यसअघि दैनिक २ लाख रुपैयाँसम्मको मात्रै सीमा थियो ।

त्यस्तै वालेटबाट बैंक खातामा वा बैंक खाताबाट वालेटमा कारोबार गर्न पाइने रकमको सीमा पनि बढेको छ । अब वालेटबाट बैंक खातामा वा बैंक खाताबाट वालेटमा दैनिक २ लाख रुपैयाँसम्म कारोबार (ट्रान्सफर) गर्न सकिनेछ ।

यसअघि यस्तो सीमा जम्मा १ लाख रुपैयाँसम्म थियो । यस्तो कारोबार प्रतिमहिनाका लागि भने पुरानै सीमा १० लाख कायम गरिएको छ ।

एक वालेटबाट अर्को वालेटमा कारोबार गर्न सकिने रकमको सीमा भने घटाइएको छ ।

वालेट–वालेट कारोबार यसअघि दैनिक १ लाख रुपैयाँ रहेकोमा अब ५० हजार कायम गरिएको छ । वालेटमा अधिकतम ५० हजार रुपैयाँसम्म मात्रै रकम राख्न पाइने व्यवस्था छ । वालेटमार्फत गरिने राजस्व भुक्तानीको सेवा शुल्क पनि केही घटाइएको छ ।