
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सार्वजनिक ऋणभार २७ खर्ब नाघेको छ ।
चालु आर्थिक वर्ष पहिलो दुई महिना भदौ मसान्तसम्म सार्वजनिक ऋण २७ खर्ब ४३ अर्ब ३७ करोड पुगेको छ । यो २०७८ सालको नेपालको जनसंख्या अनुसार भदौ मसान्तसम्म सार्वजनिक ऋणको प्रतिव्यक्ति भार ९४ हजार ६५ रुपैयाँ हुन आउँछ ।
नेपालमा सार्वजनिक ऋणको भार निरन्तर बढ्दो छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको लिखित जवाफअनुसार ३५ वर्ष पहिले २०४७ सालमा प्रति व्यक्ति सार्वजनिक ऋण २ हजार ८ सय ४२ सय थियो। अहिले ९४ हजार ६५ रुपैयाँ पुगेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जवाफमा उल्लेख भएअनुसार २०४७ साल असार मसान्तमा सरकारको तिर्न बाँकी आन्तरिक ऋण १४ अर्ब ६७ करोड ३१ लाख र तिर्न बाँकी वैदेशिक ऋण ३६ अर्ब ८० करोड ९ लाख गरी जम्मा सार्वजनिक ऋण ५१ अर्व ४७ करोड ४० लाख रहेको थियो । त्यस समयमा कुल ग्राहस्थ्य उत्पादनको अनुपातमा सार्वजनिक ऋण ४९.८ प्रतिशत रहेको थियो भने प्रति व्यक्ति कुल सार्वजनिक ऋण २ हजार ८ सय ४२ रुपैयाँ थियो ।
२०८१ चैत मसान्तमा सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड पुगेको छ । यसमध्ये आन्तरिक ऋण १३ खर्ब १ अर्ब ९४ करोड र बाह्यऋण १३ खर्ब ६५ अर्ब ३२ करोड रहेको छ । हाल कुल गार्हस्थ्य उत्पादनको अनुपातमा सार्वजनिक ऋण ४३.९ प्रतिशत रहेको छ ।