काठमाडौं । बंगलादेशमा फेब्रुअरी ३ देखि ९ तारिखसम्म आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउने नेपाली टोलीको विदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार सातदोवाटोमा आयोजित कार्यक्रमबीच खेलाडीको विदाइ गरेको हो ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, भारत र भुटानको सहभागिता रहनेछ । च्याम्पियनसिपको उपाधि चुम्ने लक्ष्य राखेको नेपालले पहिलो खेल ३ तारिख आयोजक बंगलादेशसँग खेल्नेछ ।
नेपालले दोस्रो खेल ५ तारिख भुटान र अन्तिम खेल ७ तारिख भारतसँग खेल्नेछ । लिग चरणको शीर्ष दुई टोलीबीच ९ तारिख फाइनल खेल हुनेछ ।
नेपाली टोलीको प्रशिक्षक यामबहादुर गुरुङ हुन् । प्रीति राईको कप्तानीमा रहेको नेपाली टोलीको गोलरक्षकमा कविता विक, सावित्री किसन र लिला जोशी , रक्षकमा सविना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, दिव्या यसमलाई मगर, प्रतिक्षा चौधरी र कुमारी तामाङ रहेका छन् ।
यसैगरी मिडफिल्डरमा कप्तान राईसहित तुलसा बोहरा, कुसुम खतिवडा, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, अन्जली मचामसी, सरस्वती हमाल र दिपा शाही, स्ट्राईकरमा गरिमा राई, अमिसा कार्की, ममता पुन र अन्जली चन्द रहेका छन् ।
टोलीलाई एन्फाका कार्यबाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही, महासचिव किरण राईलगायतले विदाइ गर्नुभयो । नेपाली महिला टोली बुधबार बंगलादेश प्रस्थान गर्नेछ ।