images

साफ यू–२० महिला च्याम्पियनसिपको पहिलो खेलमा आज नेपालले बंगलादेशको सामना गर्दै

काठमाडौं । बंगलादेशमा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिप आजबाट ढाकामा सुरु हुँदैछ ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले आज आयोजक बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ ।

नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ । बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुआतको योजनामा हुनेछ ।

नेपालले प्रतियोगिताका लागि तयारी समेत राम्रो गरेको बताएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक यम गुरुङले पहिलो खेलमा टिम उत्कृष्ट प्रदर्शनका लागि तयार भएको बताईसकेका छन् ।

नेपालले प्रिती राईको कप्तानीमा प्रतियोगिता खेल्दैछ । प्रिती सिनियर राष्ट्रिय टोलीकी सदस्य समेत हुन् ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले दोस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ । यस्तै अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।