images

सहिद स्मारक ‘ए’  डिभिजन लिगको काउन्ट डाउन सुरु, प्रतियोगिताको ५० प्रतिशत तयारी पूरा

काठमाडौं । सहिद स्मारक ‘ए’  डिभिजन लिग फुटबल प्रतियोगिताको ५० प्रतिशत तयारी पूरा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै लिगको ५० प्रतिशत तयारी पूरा भएको जनाएको छ ।

एन्फाका महासचिव किरण राईले लिगको एक महिने काउन्ट डाउन सुरु भएको जानकारी दिदै ५० प्रतिशत तयारी सकिएको बताए ।

तीन मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग फागुन १९ गतेबाट सुरु हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिग दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ ।

एन्फाका लिग निर्देशक सन्जिब मिश्रले पहिलो चरणको खेल तालिका सार्वजनिक भईसकेको जानकारी दिए । लिगका लागि १४ वटै क्लबले नाम दर्ता गराईसकेको एन्फाले जनाएको छ । यस्तै सबै क्लबले तयारी खर्चको पहिलो किस्ता १५ लाख लिएको एन्फाले जनाएको छ ।

एन्फाले लिगको तयारीका लागि ‘ए’ डिभिजनका प्रत्येक क्लबलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने छ । यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले अवार्डको नगद पुरस्कार वृद्धि गर्दै ३ लाख रहेको छ ।

मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।

प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।