काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भुटानसँग खेल्ने छ । नेपाल र भुटानबीचको खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।
भुटानविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपाल पराजित भएको थियो । शुक्रबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।
भुटान पनि पहिलो जितको खोजीमा हुनेछ । भुटान पहिलो खेलमा भारतसँग १२–० ले पराजित भएको थियो ।
प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । अब नेपालले अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।