images

अमेरिकी आणविक क्षेत्रमाथि पुगेको बिशाल चिनियाँ बेलून अमेरिकाले मिसाइल प्रहार गरी खसाल्यो

काठमाडौं । अमेरिकी आकाशमा देखा परेको चिनियाँ बिशाल जासूसी बेलूनलाई अमेरिकाले मिसाइल प्रहार गरी खसालेको छ । अमेरिकाले आफ्नो लडाकू जेट एफ–२२ रैप्टर विमानको सहयोगमा एट्लान्टिक महासागरमा खसालेको हो । अमेरिकाले आफ्नो बेलूनलाई खसालेपछि चीनले त्यसप्रति रोष प्रकट गरेको छ । अमेरिकी राज्य मोन्टानामा देखिएको बेलुनको साइज तीनवटा बस बराबर रहेको थियो ।

चिनियाँ जासुसी बेलूनलाई खसाल्न अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी वायुसेनालाई आदेश दिएको बताइएको छ । राष्ट्रपति बाइडेनको आदेश आएपछि वायुसेनाले उच्च प्रविधियुक्त एफ–२२ रैप्टर विमानको सहयोगमा ती बेलुनलाई खसालेको थियो ।

साउथ क्यारोलिनाको तटबाट करिब ९.६ किलोमिटर (६ माइल) टाढा एट्लान्टिक महासागरमा उक्त बेलुन खसालिएको बताइएको छ । अमेरिकी सन्चारमाध्यमका अनुसार बेलुनलाई तल ल्याउन सिंगल साइडविन्डर मिसाइलहरू प्रहार गरिएको थियो । जासुसी बेलुनको भग्नावशेषबाट कसैलाई हानि नपुगेको बताइएको छ । अमेरिकाको भर्जिनियास्थित ल्याङ्ले एयर फोर्स बेसबाट जासुसी बेलुन खसाल्न लडाकु विमान उडेको थियो ।

अमेरिकाले आफ्ना बेलून खसालेपछि चीनले आपत्ती जनाउँदै एक विज्ञप्ति जारी गरेको छ । चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई शान्तिपूर्ण रुपमा समस्याको समाधान गरोस भन्ने चीनले चाहेको बताएको छ । साथै आफ्नो नागरिक हवाई जहाजलाई गोली हानेको भन्दै चीनले अमेरिकाको कदमप्रति आक्रोश व्यक्त गरेको छ । अमेरिकाले यसो गरेर अन्तर्राष्ट्रिय मापदण्डको उल्लंघन गरेको समेत चीनले आरोप लगाएको छ ।

साथै चीनले चेतावनी दिँदै विज्ञप्तिमा भनेको छ, “चीन आफ्नो अधिकारको रक्षा गर्न कटिबद्ध छ । हामीले अमेरिकासँग धेरै पटक यस विषयमा छलफल गरेका छौं । हामीले उनीहरूलाई हाम्रो नागरिक हवाई जहाज संयोगवश अमेरिकी आकाशमा प्रवेश गरेको जानकारी गराएका थियौ । उक्त बेलून बाटो बिराएर अमेरिकी आकाशमा पुगेको थियो । यो बेलुनबाट अमेरिकालाई कुनै सैन्य खतरा नरहेको पनि पहिले नै जानकारी गराएका थियौं ।”

चीनको जासुसी बेलुन खसालेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूले उक्त बेलून खसाल्न आदेश दिएको बताएका छन् । बेलुन खसाल्दा त्यसको फोहोरले जमिनमा कसैलाई हानी नहोस् भनेर बेलुन समुन्द्रमा खसालिएको पनि अमेरिकाले जनाएको छ ।

अहिले अमेरिकी सेनाका गोताखोरहरु उक्त बेलूनको भग्नावशेष समुन्द्रमा पुगेर खोजिरहेको बताइएको छ । अमेरिकी रक्षामन्त्रालयका एक वरिष्ठ अधिकारीले अमेरिकाले लामो समयदेखि चीनको यो ’जासूस बेलुन’ लाई ट्रयाक गरिरहेको बताएका छन् ।

जनवरी २८ मा उक्त बेलुन अमेरिकाको अलास्का प्रवेश गरेको थियो । त्यसपछि जनवरी ३० मा क्यानडाको हवाई क्षेत्रमा प्रवेश गरेको र फेरि जनवरी ३१ फेरि क्यानडाबाट इडाहो हुँदै अमेरिकी हवाई क्षेत्रमा प्रवेश गरेको अमेरिकी रक्षामन्त्रालयले जनाएको छ ।

अमेरिका, क्यानडा र ल्याटिन अमेरिकाको आकाशमा चीनको संदिग्ध जासूस बेलुन देखा परेपछि त्यहाँ हंगामा मच्चिएको थियो । अमेरिकी राज्य मोन्टानामा देखिएको बेलुनको साइज तीनवटा बस बराबर रहेको बताइएको छ ।

उक्त जासुसी बेलुन उडिरहेको अमेरिकाको मोटान्ना क्षेत्रमा अमेरिकाको आणविक मिसाइल क्षेत्र रहेको छ । अमेरिकी सेनाले जासुसी बेलुन ती संवेदनशील क्षेत्रहरू हुँदै चीनलाई धेरै महत्वपूर्ण जानकारी दिने गरेको आशंका गरेको थियो । तर, त्यो बेलुनको साइज निकै ठूलो भएकाले भग्नावशेष तल खस्ने डर थियो, त्यसैले त्यसलाई खसाल्ने निर्णयमा ढिलाइ भएको थियो ।

यो पनि हेर्नुहोस्

चीनले अमेरिकी आकाशमा जासुसी बेलून पठाएपछि दुईदेशबीच तनाव बढ्यो