images

चीनले अमेरिकी आकाशमा जासुसी बेलून पठाएपछि दुईदेशबीच तनाव बढ्यो

काठमाडौं । अमेरिकाको आकाशमा चिनियाँ जासुसी बेलुन भेटिएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको चीन भ्रमण स्थगित भएको छ ।

अमेरिकी विदेशमन्त्री चीन जान तयारी गरिरहेको एक दिनअघि अमेरिकाको आकाशमा चिनियाँ बेलुन देखापरेको हो । उनी चीन र अमेरिकाबीच बढिरहेको तनावलाई कम गर्नकै लागि चीन जान लागेको बताइएको थियो । पाँच वर्षपछि अमेरिकी विदेशमन्त्री चीन जाँदै थिए । यो घटनाले चीन–अमेरिका सम्बन्धमा ठूलो धक्का मानिएको छ । अमेरिकाले यसलाई चिनको गैरजिम्मेवारपूर्ण हर्कत भनेको छ ।

मोन्टाना राज्यका गर्भनरले उक्त बेलून उक्त राज्यमा रहेको अमेरिकी वायु सेनाको बेस क्याम्पमा विस्तारै उडिरहेको भेटिएको बताएका छन् ।

चीनले अमेरिकी आकाशमा भेटिएको बेलुन आफ्नो भएको स्वीकार गरेको छ । तर, उक्त बेलुनमार्फत जासुसी गरेको आरोप भने अस्वीकार गरेको छ । चीनले उक्त बेलून आफ्नो ‘सिभिलियन एयरशिप’ भएको र बाटो हराएर अमेरिकी एअरस्पेसमा पुगेको बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयले मौसमसम्बन्धी जानकारी सङ्कलन गर्ने भएको स्पष्ट पारेको छ । साथै चिनियाँ विदेश मन्त्रालयले आफ्नो उक्त बेलून अमेरिकी आकाशमा पुगेकोमा चीनलाई दुःख लागेको पनि जनाएको छ ।

चिनियाँ बेलुन पश्चिमी अमेरिकाको मोन्टाना राज्यमा उडिरहेको भेटिएको थियो । जसका कारण यस क्षेत्रमा विमानको उडान बन्द गर्नुपरेको अमेरिकाले जनाएको छ ।

अमेरिकी अधिकारीहरूले उक्त बेलुन मोन्टानामा देखा पर्नुअघि अमेरिकाकै अलास्काको अल्युसन आइल्याण्ड र क्यानडा हुँदै उडेको थियो ।

अमेरिकी सेनाले उक्त बेलुनलाई खसाल्ने बताइए पनि यो संवेदनशील ठाउँमा खसेर क्षति हुनसक्ने डरले नखसाल्ने निर्णय गरेको बताइएको छ ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा चलेको व्यापार युद्धले दूई देशबीच तनाव बढेको थियो । पछिल्लो समय ताइवानमाथिको तनाव, दक्षिण चीन सागरमा लामो समयदेखिको तनावले अझै तनाव शान्त हुने स्थिति देखिएको छैन । चीनले युक्रेनमा भएको आक्रमणमा रुसका विरुद्ध खासै कुनै प्रतिक्रिया नदिएपछि अमेरिका झने सशंकित भएको थियो ।

अमेरिकाले चीनमाथि आर्थिक नाकाबन्दी लगाएर र आफ्नो वरपरका क्षेत्रमा सैन्य विस्तार गरेर चीनमाथि दबाब दिँदै आएको छ । चीनले अमेरिकी व्यवहारप्रति आक्रोश पोख्दै आएको छ ।

गत साता मात्रै चीनकै विषयमा अमेरिका, जापान र नेदरल्याण्ड्सबीच एक सम्झौता भएको थियो । उक्त सम्झौतामा तीन देशले चीनलाई चिप बनाउने उपकरणको आयात रोक्ने सहमति गरेका थिए । त्यसबाट चीन झनै रिसाएको थियो । चीन अर्धचालक प्रविधिको उत्पादनमा अन्य देशभन्दा धेरै अगाडि छ । अमेरिका भने चीनलाई दवावमा राखेर उसलाई कमजोर बनाउन र माइक्रोचिप आपूर्तिको श्रृंखला तोड्न खोजिरहेको छ ।

केही दिनअघि अमेरिकी सेनाले फिलिपिन्समा आफ्नो उपस्थिति बढाउने घोषणा गरेको थियो । ताइवानलाई लिएर बढ्दो द्वन्द्वलाई मध्यनजर गर्दै अमेरिकाले यस क्षेत्रमा आफ्नो उपस्थिति बढाएको मानिन्छ ।