images

साढे ७८ लाख रुपैयाँसहित हुन्डी कारोबारमा संलग्न २ जना काठमाडौंको न्यूरोडबाट पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले साढे ७८ लाख रुपैयाँसहित हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा कैलाली धनगढी उपमहानगरपालिका–९ घरभई काठमाडौं बिजुलीबजार बस्ने २३ वर्षीय किशोर चौधरी र कैलाली गोदावरी नगरपालिका–१० का ५९ वर्षीय दिपेन्द्र बहादुर मल्ल रहेकाछन् ।

काठमाडौं उपत्यकाको न्यूरोड क्षेत्रमा विभिन्न व्यक्तिहरुले नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश र निर्देशन विपरीत ईजाजतपत्र नलिई वित्तीय कारोबार (हुन्डी) गरिरहेको सूचनाको आधारमा उनीहरुलाई नगदसहित पक्राउ गरिएको हो ।

उनीहरुलाई प्रहरीले शुक्रबार पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट नगद ७८ लाख ५० हजार रुपैयाँ र ४ लाख रुपैयाँको चेक बरामद गरेको छ । उनीहरुविरुद्ध नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको छ ।