images

साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल ४-० ले बिजयी

काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो जित दर्ता गरेको छ ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा आइतबार भुटानलाई ४-० गोल अन्तरले हराउँदै नेपालले पहिलो जित निकालेको हो ।

नेपालको जितमा अमिषा कार्कीले ह्याट्रिक गरिन् । कप्तान प्रिती राईको नाममा एक गोल रह्यो ।

भुटानको यो लगातार दोस्रो हार हो । भुटान पहिलो खेलमा भारतसँग १२-० ले पराजित भएको थियो ।

पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको थियो ।

अब नेपालले अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।