images

पल्सर स्पोर्ट्स अवार्ड २०७८: पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरेको छ ।

मञ्चले सोमवार एक कार्यक्रम आयोजना गर्दै आगामी फागुन २३ गते हुने अवार्डअन्तर्गत पिपल्स च्वाइस विधामा मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो ।

सार्वजनिक सूचिमा फुटबलका अञ्जन बिष्ट, क्रिकेटका आसिफ शेख, भलिबलकी उषा भण्डारी, टेनिसका अभिलाषा बिष्ट र पौडीकी डुवाना लामा अटाएका छन् । सूचिमा परेका खेलाडी अघिल्लो वर्ष सम्पन्न विभिन्न प्रतियोगितामा पाएको सफलता र चर्चाको आधारमा मनोनयनमा परेका मञ्चले जनाएको छ ।

मनोनयनमा परेका मध्येबाट विजेताको चयन इसेवामार्फत भोटिङ, फेसबुक लाइक, नेपाल खेलकुद पत्रकार मञ्चका पत्रकारको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतको आधारमा हुने जनाइएको छ । अवार्डमा यस वर्ष विभिन्न ८ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित हुने छन् ।

उत्कृष्ट वर्ष खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन पनि केही दिनमै सार्वजनिक गरिने मञ्चले जनाएको छ । लाइफटाइम एचिभमेण्ट अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड अवार्डको घोषणा भने फागुन २३ गते नै हुनेछ जनाइएको छ ।