images

राष्ट्रिय भलिबल टिमका प्रशिक्षकमा बेल्जियमका जान डी नियुक्त

काठमाडौं । बेल्जियमका जान जोसे डी ब्रान्ट नेपाली राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले बेल्जियमका प्रशिक्षक जान डीलाई राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको जानकारी दिए ।

बेल्जियम प्रशिक्षक जान डीलाई ६ महिनाको लागि राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको हो । उनले नेपालको महिला र पुरुष दुबै टोली हेर्ने छन् ।

महासचिव श्रेष्ठले प्रशिक्षक जान डी आगामी मार्च पहिलो हप्ता नेपाल आईपुग्ने जानकारी दिए । उनी अगस्टसम्म नेपालमा रहने छन् । अन्तराष्ट्रिय भलिबल महासंघ (एफआईभीभी) को सहयोगमा जान डी नेपाल आउन लागेका हुन् ।

बेल्जियमका पूर्व राष्ट्रिय खेलाडी समेत रहेका जान डीले बेल्जियम र हंगेरीको राष्ट्रिय महिला टिम हेरिसकेका छन् । महासचिव श्रेष्ठले नेदरल्याण्ड्सका प्रशिक्षक हान एबिङ पनि नेपाल आउने जानकारी दिए ।
महासचिव श्रेष्ठका अनुसार एसियन गेम्सको ४५ दिन अघि नेपाली टोलीलाई प्रशिक्षण दिन डच प्रशिक्षक एबिङ नेपाल आउने छन् ।

चीनमा आयोजना हुने एसियन गेम्समा नेपालको महिला र पुरुष भलिबल टोलीले सहभागिता जनाउदैछ ।