images

सरकारमा बस्ने सबै व्यापारी हुन, आर्यघाटमा शवमाथि पनि व्यापार गर्छन् : पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको आरोप आरोप लगाएकी छन् ।

शुक्रवार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै कार्कीले यस्तो आरोप लगाएकी हुन् । उनले सरकारले शिक्षा, स्वास्थ्यसहितका हरेक कुरामा व्यापार गरिरहेको बताइन ।

शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण अधिकांश आर्थिक स्थिति कमजोर रहेका नेपालीहरुले छोराछोरीहरुलाई अध्ययन गराउन नसकेको कार्कीको भनाइ छ ।

उनले सरकारले दिइरहेको स्कलरसिप र सहुलियत कसले पाउँछ त्यो पनि थाहा नहुने गरी काम भइरहेको भन्दै आपत्ति जनाइन । उनले आर्यघाटमा पु¥याइएको शवमाथि पनि व्यापार हुने र जलाउनको लागि चन्दा संकलन गर्नुपर्ने अवस्था समाजमा देखिएको भन्दै चिन्ता व्यक्त गरिन् ।

पूर्वप्रधानन्यायाधीश कार्कीले शिक्षामा व्यापार हुन्जेलसम्म सामाजिक उत्थान हुन नसक्ने बताइन ।

उनले नागरिकलाई गास, वास र कपासका साथै शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता सरकारले गर्न नसकेको भन्दै राजनीतिक दलहरु एउटा कुर्सीमा भिडेर बसिरहेको बताइन । उनले सरकारमा बस्ने सबै व्यापारीहरु रहेको उल्लेख गरिन्।