images

स्कटल्याण्डद्वारा नामिबिया पराजित, नेपालको विश्वकप छनोट खेल्ने सम्भावना बलियो

काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा स्कटल्यान्डले नामिबियालाई हराएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमवार भएको खेलमा स्कटल्यान्डले नामिबियालाई ४३ रनले हराएको हो । स्कटल्यान्डले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको नामिबिया ३८ ओभर ४ बलमा १ सय ७८ रन बनाउँदा अलआउट भयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४८ ओभर ४ बलमा २ सय २१ रन बनाउँदा अलआउट भएको थियो ।

यो जितसँगै स्कटल्यान्ड ३५ खेलमा ५० अङ्कसहित शीर्ष स्थानमा छ । नामिबिया ३४ खेलमा ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । नेपालमा भइरहेको शृंखलामा नामिबिया चार वटै खेलमा पराजित भएको छ । योसँगै नामिबियाले शीर्ष तीनमा रहेर विश्व कप छनोट खेल्ने समीकरण कठिन बनेको छ, अब उसले दुई खेल मात्र खेल्न बाँकी छ ।

अहिले २४ अङ्कसहित तालिकाको छैटौँ स्थानमा रहेको नेपालले ९ खेल खेल्न बाँकी हुँदा विश्व कप छनोट खेल्ने सम्भावना बलियो बनेको छ ।