images

स्कटल्याण्डमाथि रोमाञ्चक जित निकाल्दै नेपालले रच्यो इतिहास

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले लगातार चौंथो जित हात पारेको छ ।

टियु क्रिकेट मैदानमा मंगलबार सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले हराएको हो ।

स्कटल्याण्डले दिएको २ सय १३ रनको लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा कप्तान रोहितकुमार पौडेल र करण केसीले उत्कृष्ट प्रदर्शन गरे । कप्तान रोहितले १०१ बलमा ७ चौका र चार छक्का प्रहार गर्दै ९५ रनको योगदान दिए । यसैगरी करण केसीले ३७ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै ३१ रन जोडे ।

यसअघि नेपालका ज्ञानेन्द्र मल्ल २१, कुशल मल्ल १७, आशिफ शेख १२, सन्दीप लामिछाने ९, दीपेन्द्रसिंह ऐरी सात, सोमपाल कामी दुई, सन्दीप जोरा र कुशल भुर्तेल समान १–१ रनमा आउट भए ।

स्कटल्यान्डका मार्क वाटले तीन र र क्रिस ग्रेभ्सले दुई विकेट लिएका छन् । ब्रान्डन म्याकमुलेन र माइकल लिस्कले समान १–१ विकेट लिएका छन् । यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४६.१ ओभरमा सबै विकेटको क्षतिमा २१२ रन मात्रै बनाउन सकेपछि नेपालले मध्यम लक्ष्य पाएको थियो ।

स्कटल्यान्डका लागि जर्ज मन्जीले ६०, म्याथेव क्रोसलाई ४२, ब्रान्डन म्याकमुलेनले ३१, कायल कोएट्जरलले २२, क्रिस्टोफर म्याकब्राइडले २२, रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । सन्दीपकै राम्रो बलिङमा स्कटल्यान्डका ब्याटर सस्तैमा समेटिए । सन्दीपले जर्ज मन्जी, कायल कोएट्जर, टोमस म्याकिनतोस, रिची बेरिङटनलाई आउट गराए । सन्दीपले १० ओभरमा ४५ रन खर्चिएर चार विकेट लिएका हुन् ।

त्यस्तै, करण केसीले तीन विकेट लिए । उनले ब्रान्डन म्याकमुलेन, मार्क वाट र माइकल लिस्कलाई आउट गराए । योसँगै करण केसीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका छन् । कुशल मल्ल र ललितनारायण राजवंशीले समान १–१ विकेट लिए ।

नेपालले अन्तिम खेलमा स्कटल्यान्डलाई पराजित गरेसँगै सिरिज क्लीन स्वीप गरेको हो । नेपालले चार खेलमा चारै खेल जित निकाल्दै महत्वपूर्ण आठ अंक बटुलेको छ ।

२८ खेलबाट नेपालको २६ अंक भएको छ । तर नेपाल अझै लिग टु को छैटौँ स्थानमा छ । यता, नेपालसँग लिग टु कै अन्तिम खेलमा पराजित भएपनि स्कटल्यान्ड च्याम्पियन बनेको छ । स्कटल्यान्डले आफ्नो कूल ३६ खेलबाट ५० अंक बनाएको छ ।

नेपाल २०१९ देखि शुरु आईसीसी विश्वकप लिग टूमा आफ्नो घरेलु भूमिमा आयोजित एक त्रिदेशीय सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने पहिलो टोली बनेको छ ।