images

यू-१९ विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित

काठमाडौं । आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हात पारेको छ ।

यूएईस्थिति मलेका क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको हो ।

हङकङले दिएको १ सय २१ रनको लक्ष्य नेपालले २२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जीतमा आकाश त्रिपाटीले अर्धशतक पूरा गरे ।

त्रिपाटीले ७१ बलमा ५८ रन बनाए । उत्तम थापाले ३९ रन बनाए भने अर्जुन कुमाल १६ रनमा आउट भए ।

२६ रन जोड्दा नेपालले छैटौं ओभरमा पहिलो विकेट गुमाएको थियो । तर आकाशले उत्तम थापा मगरसँग दोस्रो विकेटका लागि अविजित ९८ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए । ओपनर अर्जुन कुमालले १६ रन जोडे ।

यसअघि नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६ रन र कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

प्रतियोगितामा नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कपका लागि छनोट हुनेछ ।