images

सहिद स्मारक ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट

काठमाडौं । नेपालको सबैभन्दा ठूलो फुटबल लिग प्रतियोगिता सहिद स्मारक ’ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । सोमबार एन्फा कम्पलेक्स सातदोबाटोमा पत्रकार सम्मेलन गरी लिगसँग सम्बन्धित सबै पक्षको जानकारी गराइएको हो ।

दशरथ रङ्गशाला, एन्फा कम्प्लेक्स मैदान र च्यासलमा सञ्चालन हुने लिगमा १४ क्लबको सहभागिता रहने छ । लिगमा कूल एक सय ८२ खेल एन्फाले जनाएको छ ।

फागुन १९ गते बाट सुरु हुने सहिद स्मारक ’ए’ डिभिजन लिगका खेलहरु स्पेस फोरके टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने भएको छ ।

एन्फाले आव्हान गरेको टेन्डर प्रक्रियाबाट एमडीएससी स्पोर्ट्स प्रालिले भ्याट बाहेक १ करोड ९७ लाखमा शीर्षक प्रायोजक बाहेकका मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङको अधिकार किनेको हो । एन्फाका महासचिव किरण राई र एमडीएससी स्पोर्ट्सका संयोजक अर्जुन घिमिरेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

संयोजक घिमिरे भन्छन् ’नेपाली खेलकुदमा योगदान पुर्याउन सबैले आ–आफ्नो क्षेत्र बाट पहल गरे नेपाली फुटबल पनि उचाइ मा जान सक्छ ।’

लिगका खेलहरू डबल राउन्ड रोबिन प्रणालीका आधारमा खेलाइने छ ।

कूल १२ करोड रुपैयाँ लगानीमा सञ्चालन हुने लिगको विजेताले ७५ लाख, उपविजेताले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपियाँ पुरस्कार पाउनेछ । यस्तै लिगमा प्रत्येक खेलको विजेता टोलीलाई ५० हजार र यदि खेल बराबरी भएका २५ हजार रुपैयाँ प्रदान गरिने एन्फाले जनाएको छ ।