images

‘ए’ डिभिजन लिग : सातदोबाटोको विजयी सुरुआत

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल खेलमा सातदोबाटो युथ क्लबले विजयी सुरुआत गरेको छ ।

च्यासल रंगशालामा आइतबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई २-१ गोल अन्तरले हराउँदै सातदोबाटोले सुखद सुरुआत गरेको हो ।

सातदोबाटोको जितमा दीपक राज ठकुरीले दुई गोल गरे । एनआरटीका निकोलस सङले एक गोल फर्काए ।

खेलको ४५ औं मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, पहिलो हाफको इन्जुरी समयमा निकोलसले गोल गर्दै एनआरटीलाई १-१ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८४ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २-१ को जित दिलाए ।

यस जितसँगै सातदोबाटोले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । एनआरटीले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

तीन मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भईरहेको छ । लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ ।

यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले ३ लाख पाउने छन् ।

मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।

प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।