images

ए डिभिजन लिग: आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दीको लिगमा पहिलो जित

काठमाडौं । कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार संकटा क्लबलाई १-० गोल अन्तरले हराउँदै मनाङले पहिलो जित निकालेको हो।

मनाङको जितमा उज्वेकिस्तानका विंगर सेदजामोल दाभ्लातजोनोभले निर्णायक गोल गरे ।

उनले खेलको ५४ औं मिनेटमा गोल गरेका थिए । डिबक्स बाहिरबाट उनले प्रहार गरेको बल संकटाका गोलकिपर टिकेन्द्र सिंह थापाले पन्च गरेपनि पोस्टको जाली चुमेको थियो ।

त्यसअघि खेलको १९ औं मिनेटमा संकटाका सुनिल श्रेष्ठको प्रहार मनाङका डिफेन्डर प्रवेश कुँवरले गोललाइनबाट जोगाएका थिए ।

जितसँगै मनाङले २ खेलमा ४ अंक जोडेको छ । मनाङले पहिलो खेलमा हिमालयनसँग बराबरी खेलेको थियो ।

संकटाको यो पहिलो हार हो । संकटाले पहिलो खेलमा आर्मीसँग बराबरी खेलेको थियो ।

संकटाले २ खेलमा १ अंक जोडेको छ ।