images

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बिहीबार दुई खेल

काठमाडौं । नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बिहीबार दुई खेलहरु हुँदैछन् ।

दोस्रो चरणको लिग अन्तर्गत बिहीबार दुई खेलहरु हुनेछ । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्स मैदानमा हुनेछ ।

एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र जावलाखेलबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

एनआरटी पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा एनआरटीलाई सातदोबाटो युथ क्लबले हराएको थियो ।

जावलाखेल लगातार दोस्रो जितको खोजीमा हुनेछ । जावलाखेलले पहिलो खेलमा मछिन्द्र फुटबल क्लबलाई हराएको थियो ।

च्यासल मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र मछिन्द्रबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

आर्मी पहिलो जितको योजनामा रहेको छ । आर्मीले पहिलो खेलमा संकटा क्लबसँग बराबरी खेलेको थियो ।

मछिन्द्र भने पहिलो अंकको खोजीमा रहेको छ । मछिन्द्रलाई पहिलो खेलमा जावलाखेलले हराएको थियो ।