images

लिग टू को दोस्रो खेलमा नेपालले युएईविरुद्ध पहिले ब्याटिङ गर्ने

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले युएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जितेको छ र पहिले ब्याटिङ रोजेको छ । युएईले सुरुआतमा फिल्डिङ गर्नेछ ।

पहिलो खेलमा जित हात पारेको नेपाल आजको खेलमा पनि जित निकाल्न चाहन्छ । पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी)लाई पराजित गरेको थियो ।

विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका तीन खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ ।

युएई भने यस सिरिजको दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । युएई पहिलो खेलमा पीएनजीसँग पराजित भएको थियो ।

विश्वकप लिग टूको शीर्ष ३ मा रहने सम्भावना सकिएको युएई बाँकी तीन खेल जितेर एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम राख्न चाहन्छ ।

युएईलाई एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम राख्न नेपाललाई पराजित गर्नेपर्ने हुन्छ । यो खेल जितेर नेपाल भने २ खेल अगाबै एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायमै राख्न चाहन्छ ।

सात देश सम्मिलित विश्वकप लिग टूमा ३३ खेलमा १६ मा जित तथा १५ मा हार व्यहारेको छ । नेपाल ३४ अंक जोडेर अंक तालिकाको पाचौं स्थानमा रहेको छ ।

उता, युएई भने ३३ खेलमा १४ खेलमा जित तथा १६ खेलमा हार व्यहोरेको छ । ३१ अंक जोडेर युएई छैटौं स्थानमा रहेको छ ।