images

‘ए’ डिभिजन लिग : एनआरटी र आर्मीको ३-३ गोलको बराबरी 

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लबले पनि बराबरी खेलेका छन् ।

च्यासल मैदानमा भएको खेलमा न्युरोड र त्रिभुवन आर्मीले ३-३ को बराबरी खेलेका हुन् ।

खेलको १५ औं मिनेटमा नवयुगले पेनाल्टीबाट गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ५२ औं मिनेटमा लालनुनजामाले गोल गर्दै एनआरटीलाई १-१ गोलको बराबरीमा ल्याए ।

५७ औं मिनेटमा जिन एन्सर एमबोउमिले पेनाल्टीबाट गोल गर्दा एनआरटी २-१ ले अघि रह्यो ।

खेलको ६२ औं मिनेटमा लालनुनजामाले व्यक्तिगत दोस्रो गोल गर्दा एनआरटी ३-१ ले अघि रह्यो ।

खेलको ६८ औं मिनेटमा सुदिल राईले गोल गर्दै आर्मीलाई ३-२ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ८६ औं मिनेटमा दिनेश हेन्जनले फ्रिकिकमार्फत गोल गर्दै आर्मीलाई ३-३ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै एनआरटीले ३ खेलमा १ अंक जोडेको छ । एनआरटीले अघिल्लो २ खेलमा हार व्यहोरेको थियो ।

आर्मीको यो दोस्रो बराबरी हो । आर्मीले ३ खेलमा ५ अंक जोडेको छ ।

तीन मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भईरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ ।