images
images

‘ए’ डिभिजन लिग : पाँचौं चरणको समिक्षा

काठमाडौं । सहिद स्मार ‘ए’ डिभिजन लिग अन्तर्गत पाँचौं चरणका खेल सम्पन्न भए। फिफा इन्टरनेसनल ब्रेक अघि अंकतालिकामा निकै ठुलो फेरबदल आएको छ।

यो साता ए डिभिजन लिगले अन्य कारणले पनि हेडललाईन बनायो। दशरथ रंगशालामा आईसीसी विश्वकप क्रिकेट लिग टू मा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोटमा सोझै छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हजारौं समर्थकको अगाडी सम्मान गरेर फुटबलले क्रिकेट प्रति सद्भाव देखायो।

‘ए’ डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लबबीचको खेल दौरान क्रिकेट टिमलाई सम्मान गरिएको थियो। ‘ए’ डिभिजन लिगको मार्केटिङ कम्पनी एमडीएसी स्पोर्ट्सले शनिबार राष्ट्रिय क्रिकेट टिमलाई सम्मानित गरेको हो ।

सम्मान कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज नेम्वाङ, काठमाडौंका मेयर बालेन शाह, कांग्रेस नेता प्रदिप पौडेल लगायतले व्यक्तित्व हरुको उपस्थिति रहेको थियो।

मनाङ र एपीएफबीचको खेलमा टिकटबाट प्राप्त हुने सम्पूर्ण रकम नेपाल क्रिकेट संघ (क्यान) को खेलाडी कल्याण कोषमा हस्तान्तरण गरिने समेत एमडीएसी स्पोर्ट्सले जनाएको छ।

लिग टू अन्तर्गत टियु क्रिकेट मैदानमा भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा बिहीबार युएईलाई पराजित गर्दै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै छनोट भएको थियो।

यो साता लिगमा सातदोबाटोले चौथो जित दर्ता गर्यो। जितसँगै सातदोबाटो पाँच खेलमा १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। यस अघि अन्तिम समयमा थ्रीस्टार बिरुद्ध भोगेको हारले केहि पिडित बनेको सातदोबाटोको लागि यो जित ले उपाधि यात्रा केहि सहज बनाएको छ।

सातदोबाटोको लागि स्ट्राइकर दिपक सिंह ठकुरीले महत्वपुर्ण प्रदर्शन गर्दै आइरहेका छन। उच्च लयमा रहेका दीपकले अब्दुल लटिफको क्रसमा वान टचमा गोल गर्दै सिजनको चौथो गोल पुरा गरे। यो गोल संगै उनि टप स्कोरर पनि बनेका छन्। पहिलो गोल सार्दोर्बेक माट्मुराटोभबाट आएको थियो।

दोस्रो हाफको ६४ औं मिनेटमा मेसोकेको क्रसमा बिनोङको हेडर पोस्टमा ठोक्किएको थियो । तर रिबाउन्ड बललाई राजिभ लोप्चनले गोलमा परिणत गरेपछि खुमलटार खेलमा फर्कियो।

७७ औं मिनेटमा खुमलटारका रोशन डोङलाई ट्याकल गरेपछि माट्मुराटोभ दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिए । १० खेलाडीमा झरेपछि सातदोबाटो दबाबमा आएको थियो। तर खुमलटारले यसको फाइदा उठाउन सकेन ।

१० खेलाडी सहित पनि आफ्नो अग्रता लाइ सातदोबाटोले जोगाउदै ३ अंक हासिल गर्यो। खुमलटारले खेल मात्र हारेन गोलकिपर देव लिम्बुले पनि चोट बोकेर बाहिरिनु पर्यो। मिश्रित नतिजा ल्याइरहेको नवप्रबेशी खुमलटारको तेस्रो हारमा डिफेन्समा समस्या देखिन थालेको छ।

एन्फा कम्प्लेक्समा उपाधिको दावेदारका रुपमा हेरिएको संकटा, हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकियो। सुरुवातमा उपाधि दाबेदारको रुपमा हेरिएको संकटाले गोल गर्ने सकिरहेको छैन।

मिड्फिल्डर आयुष घलानको गोललाई अफसाइड दिइएपछि संकटाले जारी ‘ए’ डिभिजन लिगमा तेस्रो पटक गोलरहित बराबरी खेल्यो। डिफेन्स जति बलियो छ आक्रमण त्यति नै कमजोर। आशा गरिएका सुनिल श्रेष्ठले स्ट्राइकरको अभाव पुरा गर्न सकिरहेका छैनन्। जसले गर्दा प्रशिक्षक सल्यान खड्गीको चिन्ता बढिरहेको छ । उसो त चिन्ता हिमालयन शेर्पालाइ पनि कम छैन। चोट माथि चोट।

सुरुवातमै कप्तान किशोर गिरीलाई गुमेको शेर्पाका एकमात्र स्ट्राइकर पिस्तोने मुतुम्बालाई पनि चोट लागेको छ। यस खेलमा डिफेन्डर र गोलकिपरहरुले भने राम्रो प्रदर्शन गरे।

बराबरीसँगै पाँच खेलमा ६ अंक जोड्दै संकटा सातौं स्थानमा उक्लिएको छ । समान खेलबाट पाँच अंक सहित हिमालयन शेर्पा १० औं स्थानमा छ ।फ्रेन्ड्सविरुद्धको खेलमा कप्तान सिमान्त थापा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सिमान्तको अनुपस्थितीमा जावलाखेलले ललितपुर डर्बिमा लयमा फर्किएको थ्रीस्टारविरुद्ध खेल्दै थियो। उसले सेन्टरब्याक छिरिङ लामालाई राइट ब्याकमा प्रयोग गरेको थियो। त्यस्तै कप्तानको जिम्मेवारी पहिलो खेल खेलिरहेका आदित्य चौधरीले सम्हालेका थिए।

सबैको अनुमान थियो थ्रीस्टारको लागि यो इजी वाक हुनेछ। तर भयो उल्टो। जायनट किलरको छबि बनेको जावलाखेलले सिजन्भर देखाउदै आएको जुझारुपन देखायो। खेलको १६ औं मिनेटमा हिसुब थपलियाले कर्नर क्षेत्रबाट प्रदान गरेको क्रसलाई मासोबीले सुन्दर भली प्रहार गरेर अग्रता दिलाए।

मासोबीले गोलकिपर मोहमद टाहालाई कुनै मौका नदिई सेकेन्ड बारमा फिनिश गरेका थिए। थ्रीस्टारसंग अनुभवी लेफ्टब्याक बिराज महर्जनको साथ थिएन। केहि तनाबग्रस्त बनेको खेलमा रेफ्रीको निर्णय पनि बिबादित बन्यो। रेफ्रीले थ्रीस्टारको पेनाल्टी अपिललाई नकार्दा थ्रीस्टार आक्रोसित बनेको थिय।

लिगमा थ्री स्टारको भने यो दोस्रो हार हो । ४-४-२ मा काउन्टर रणनीति लिएर खेलेको जावलाखेलले धेरै पटक योजना बमोजिम थ्रीस्टारको ब्याकलाइनमा धावा बोल्न सफल रह्यो। राम्रो खेल खेल्दा खेल्दै पनि थ्रीस्टार अभागी साबित भयो। जितसँगै जावलाखेलले पाँच खेलबाट १० अंक जोड्दा थ्री स्टारको ७ अंक छ।

‘ए’ डिभिजन लिगमा अहिल्यै सम्भावित च्याम्पियन अनुमान गर्ने बेला भइसकेको छैन। तर उत्कृष्ट स्क्वाड, प्रदर्शन, प्रशिक्षक, लगानी सम्पूर्ण हिसाबले यस सिजन चर्च ब्वाइज युनाइटेडलाई दाबेदार मान्नुमा कुनै आश्चर्य छैन । अर्को साबिक बिजेता मछिन्द्र जसले जति संघर्ष गरेतापनि उसलाई कहिल्यै टाइटल रेसबाट बाहिर राख्न मिल्दैन। यी दुइ टोलीले ५ औं चरणमा भेटे।

च्यासल रंगशालामा भएको यो भिडन्तले उपाधि दौडको अंक गणितमा निकै फरक पार्थ्यो। ४२ औं मिनेटमा पुजन उपरकोटीले रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि मछिन्द्र १० खेलाडीमा समेटियो। पुजनले जोसेफ बेम्पालाई कुहिनोले प्रहार गरेपछि रेफ्रीले सिधै रातो कार्ड देखाए। यहाबाट मछिन्द्र दबाबमा आयो। हुनत सुरुवात देखिनै चर्च ब्वाइजले उत्कृष्ट खेल्यो। विशेषगरी फरवार्ड आशिस चापागाईले राम्रा अवसर गुमाउदा चर्चले अग्रता लिन सकेन। यस बराबरीसँगै चर्च ब्वाइजले पाँच खेलमा ११ अंक जोड्दा मछिन्द्रको समान खेलबाट पाँच अंक छ।

पाँचौं खेलमा आएरपुलिसले अन्ततः पहिलो अंक न्युरोड टिम (एनआरटी) सँग १-१ को बराबरी खेल्दै जोड्यो । पुलिसले एक गोलले पछाडी परेको अवस्थालाई उल्टाउँदै बराबरी खेलेको हो ।

खेलको ६४ औं मिनेटमा दोस्रो सन्जिव विष्टले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । एनआरटी र पुलिसका खेलाडीलाई ठोकिँदै आएको बललाई पुलिसका गोलकिपर संजित श्रेष्ठले क्लियर गर्न नसक्दा सन्जिवले गोल गरेका हुन् । बारम्बार आफ्नै गल्तीमा गोल खाइरहेको पुलिस यहाँ पनि पछि पर्दा इन्टरनेसनल ब्रेक सम्म कुनै अंक जोड्न सक्ने होइन‌कि भन्ने लागेको थियो। तर ७५ औं मिनेटमा प्रताप गुरुङले गोल फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै पुलिसलाई जिवनदान दिए।

एनआरटीलाई बिदेशी खेलाडीबाट साथ मिलिरहेको छैन। नत नेपाली युवा खेलाडीहरुले नै छाप छोड्न सकिरहेका छन्। मुख्य प्रशिक्षक राजुकाजी शाक्यले सार्वजनिक रुपमै आफ्ना खेलाडीको प्रदर्शनको आलोचना गरेका थिए। यस बराबरीसँगै पाँच खेलमा एक अंक जोडेको पुलिस पुछारमा रहँदा समान खेलबाट दुई अंकका साथ एनआरटी १३ औं स्थानमा छ।

विभागिय डर्विमा एपिएफबाट हारेको आर्मीलाई फ्रेन्ड्सले सामना गर्यो।च्यासल मैदानमा खेलको छैटौं मिनेटमा टोरिक जिब्रिनको पासलाई वान टचमै फिनिश गर्दै रफिक अमिनुले फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए । यहाँसम्म फ्रेन्ड्सले सबै सहि गरिरहेको थियो। तर थप आक्रामक बनेको आर्मीको आक्रमणलाई फ्रेन्ड्सले धेरै बेरसम्म थेग्न सकेन।

२४ औं मिनेटमा दीपक गुरुङको क्रसमा हेडिङमार्फत उत्कृष्ट गोल गर्दै जिलेस्पीजङ्ग कार्कीले आर्मीलाई बराबरीमा ल्याए । दोश्रो हाफ ठुलो बन्ने निश्चित थियो। किनकि दुबैलाई ३ अंक अत्यावश्यक थियो। इन्जुरी समयमा डिफेन्डर दीपकले गोल गर्दै आर्मीलाई २-१ को कम्व्याक जित दिलाए । यस जितसँगै पाँच खेलमा आठ अंक जोड्दै आर्मी पाँचौं स्थानमा उक्लिँदा पराजय ब्यहोरेको फ्रेन्ड्सको समान खेलबाट चार अंकका साथ १२ औं स्थानमा छ ।

इन्टरनेसनल ब्रेक अघि पाँचौं चरणको अन्तिम खेल। मनाङ मर्स्याङ्दीले विभागीय टोली नेपाल एपिएफ फुटबलसँग खेल्दै थियो। हजारौंको संख्यामा दर्शक। राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरिने। यो खेल सम्पुर्ण हिसाबले उत्कृष्ट र सम्झनलायक रह्यो। खेलको ३३ औं मिनेटमा नविन लामाको क्रसमा अर्मान्ड बिडोमले हेडर गोल गर्दै एपिएफलाई अग्रता दिलाए । शारीरिक क्षमता बोकेको एपिएफ विरुद्ध मनाङको‌ युवा टोली फर्स्ट हाफमा निरिह बनिरहेको थियो। काउन्टर अट्याकको रणनीति अपनाएको एपिएफ बलियो देखिन्थ्यो।

तर दोस्रो हाफमा मनाङ आफ्नो पुरानो छबिमा फर्कियो। पोजेसनलसई थप मजबुत बनाउँदै बारम्बार बक्स हमला गरिरह्यो। बल पोजिसन नगुनाउने रणनीति फलदायी रह्यो। ५२ औं मिनेटमा सुमित श्रेष्ठले एपिएफका बिकी तामाङलाई बिट गर्दै उपलब्ध गराएको उत्कृष्ट क्रसलाई कमलले थापाले वान टचमा पोस्टको दिशा दिए पछि मनाङ थप उत्साहित बन्यो ।

७२ औं मिनेटमा उज्वेकिस्तानका विंगर डेब्लातजोनोभले डिबक्स बाहिरबाट सिजनकै सुन्दर बेल्टर गोल गरेपछि मनाङले पुनरागमन गर्यो। सुपर सव्सटिट्युट बनिरहेका उनको यो नेपाली भुमीमा तेस्रो गोल हो। यस जितसँगै मनाङ पाँच खेलमा ११ अंकका साथ दोस्रो स्थानमा उक्लिँदा एपिएफ समान खेलबाट सात अंक जोडेर छैटौ स्थानमा छ ।