images
images

प्रधानमन्त्री थ्री नेसन्स कपका लागि नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले मंगलबार थ्री नेसन्स कप फुटबलका लागि २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । राष्ट्रिय टोलीमा सात जना नयाँ खेलाडीले स्थान बनाएका छन् ।

नेपाली राष्ट्रिय टोलीमा पदम भट्टराई, दीपकराज सिंह ठकुरी, मणिकुमार लामा, अभिषेक बराल, सुमित श्रेष्ठ, नवीन लामा र सनिश श्रेष्ठ पहिलो पटक समावेश भएका छन् । चैत ८ गते बुधबार उद्घाटन खेलमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्नेछ । ११ गते शनिबार भुटान र लाओसबीच खेल हुनेछ । नेपालले १४ गते भुटानसँग समूह चरणको अन्तिम खेल खेल्नेछ ।

शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्नेछन् ।

दशरथ रंगशालामा हुने थ्री नेसन्स कपको समूह चरणका खेल बेलुका ६ः०० सुरु हुनेछ । फाइनल भने चैत १७ गते शुक्रबार दशरथ रंगशालामा बेलुका ५ः३० बजे सुरु हुनेछ ।

यस्तो छ नेपाली टोली

गोलकिपरः किरण कुमार लिम्बु, दीप कार्की र अभिषेक बराल

डिफेन्डरः सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी, निशान्त खड्का

मिडफिल्डरः पुजन उपरकोटी, एरिक विष्ट , नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा, भरत खवास

फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दीपक सिंह ठकुरी, अन्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ र मनिष डाँगी