images
images

रवि लामिछानेमाथि राहदानी मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा आज रिट दर्ता भएको छ ।

दर्ता भएको उक्त रिटमा प्रारम्भिक सुनुवाइका लागि मंगलबार लाई पेशी तोकिएको सर्वोच्च परिसरले जनाएको छ ।

आइतबार युवराज पौडेल (सफल) ले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट पेश गरेका थिए । उक्त रिट सर्वोच्च प्रशासनले आज दर्ता गरेको हो । पौडेलले नै यसअघि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरेका थिए ।

गत चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो । त्यसअघि प्रहरी, सरकारी वकिल कार्यालयले उनीविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए ।

प्रहरीले छानबिनपश्चात् लामिछानेले राहदानी लिएको भए पनि त्यसको प्रयोग नगरेको भन्ने मुख्य आधार लिँदै मुद्दा दायर गर्नुनपर्ने राय दिएको थियो ।

निवेदक पौडेलले लामिछानेविरुद्ध मुद्दा नचलाउने गरी चैत ६ गते महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गरी मुद्दाको निष्पक्ष अनुसन्धान गरी मुद्दा चलाउनका लागि विपक्षीका नाममा परमादेश जारी गरी पाउँ भन्ने माग गरेका छन् ।