images

जेन–जी आन्दोलनमा मारिने २२ जना मात्रै प्रदर्शनकारी, अन्यमा राखिएका ४१ जना को थिए ?

 

काठमाडौं । गत भदौ २३ गते पहिलो दिन भएको जेन–जीको आन्दोलनका क्रममा काठमाडौंमा १७ र इटहरीमा २ सहित १९ जनाले तत्कालै ज्यान गुमाए ।
काठमाडौंको नयाँबानेश्वरस्थित संसद् भवन परिसर र त्यसअगाडिको सडकमा गोली चल्दा घाइते भएकामध्ये केहीले उपचारका क्रममा ज्यान गुमाए ।

त्योभन्दा ठूलो हताहती भदौ २४ गतेको विध्वंशक प्रदर्शनका क्रममा भएको थियो । भदौ २३ गते १९ जनाको ज्यान गएपछि भोलिपल्ट भएको विध्वंशक र हिंस्रक प्रदर्शनका क्रममा मात्रै ५७ जनाले ज्यान गुमाए । यसरी ज्यान गुमाउने निजी तथा सरकारी कार्यालय जलाउन पसेकाहरू पनि थिए । काठमाडौं र अन्य स्थानका भाटभटेनी जलाउन पुगेका मात्रै झन्डै दर्जन संख्यामा जलेर बिते ।त्यसरी जलेका ८ जनाको अझै पनि सनाखत हुन सकेको छैन । हाडखोड मात्रै बाँकी रहेकाले उनीहरूको डीएनए परीक्षण गरेर पहिचान गर्न चिकित्सकहरूलाई मुस्किल परेको छ। जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेको जम्मा संख्या ७६ हो । तर ती सबै आन्दोलनमा सहभागी भएर मारिएका होइनन् ।

उक्त कुराको पुष्टि नेपाली सेनाले शुक्रबार जंगी अड्डामा गरेको पत्रकार सम्मेलनका क्रममा भएको छ । सेनाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत् देशभर भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण सार्वजनिक गर्दा मारिनेहरूको विवरणमा केही अलमल देखिएको छ । सहायक रथी राजाराम बस्नेतले सार्वजनिक गरेको विवरणअनुसार जेन(जी आन्दोलनका क्रममा प्रदर्शनमा उत्रिएका २२ जनाको ज्यान गएको थियो । उनीहरू भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा मारिएका हुन् ।सेनाको तथ्यांक अनुसार देशभर ४५४ स्थानमा आन्दोलन हुँदा २२ जना प्रदर्शनकारीको विभिन्न कारणले ज्यान गएको थियो । सेनाले उल्लेख नगरे पनि उनीहरूलाई प्रहरीले हानेको गोली लागेको थियो । उक्त आन्दोलनका क्रममा सडकमा खटिएका ३ जना प्रहरीको प्रदर्शनकारीले ज्यान लिएका थिए । यी तीनजना प्रहरीलाई आन्दोलनकारीले कुटेर ज्यान लिएका थिए ।

उता देशभरका कारागारबाट भाग्ने क्रममा १० जना कैदीले पनि ज्यान गुमाए । सेनाले सार्वजनिक गरेको तथ्यांकमा जेन(जी आन्दोलनका क्रममा अन्य ४१ जना नागरिकले ज्यान गुमाएको उल्लेख छ । तर उनीहरू को थिए रु कसरी मारिए भन्ने सेनाले केही खुलाएको छैन । सेनाले केही नखुलाए पनि उनीहरू आन्दोलनका नाममा विभिन्न व्यापारिक प्रतिष्ठान लुटपाटका क्रममा ज्यान गुमाउनेहरू रहेको अनुमान गरिएको छ । दर्जनबढीको भाटभटेनीसहितका व्यापारिक प्रतिष्ठानमा लुटपाटका क्रममा लडेर वा जलेर ज्यान गएको थियो । प्रदर्शनमै नगएका केही व्यापारिक प्रतिष्ठानमा कार्यरत कर्मचारीको पनि मृत्यु हुन पुगेको थियो । तर सरकारले जेन(जी आन्दोलनका क्रममा मारिएका सबैजनालाई सहिद घोषणा गर्ने निर्णय यसअघि नै गरेको छ ।