images

 ‘ए’ डिभिजन लिग : नवौं चरणका तीन खेलहरु हुँदै 

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज शनिबारबाट नवौं चरणका खेलहरु सुरु हुँदैछ ।

लिगको नवौं चरण अन्तर्गत शनिबार तीन खेलहरु हुँदैछ । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र एनआरटीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

मछिन्द्र आज चौंथो जितको योजनामा हुनेछ । मछिन्द्र ८ खेलमा १२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

एनआरटी दोस्रो जितको खोजीमा हुनेछ । एनआरटी ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

दशरथ रंगशालामा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

आर्मी आज चौंथो जित निकाल्न चाहन्छ । आर्मी १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

खुमलटार भने तेस्रो जित निकाल्न चाहन्छ । खुमलटार ७ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

त्यस्तै च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच खेल हुनेछ । मनाङ र जावलाखेलबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

मनाङ आज पाँचौं जितको खोजीमा हुनेछ । मनाङ जावलाखेललाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । मनाङ १५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

जावलाखेल पनि पाँचौं जित निकाल्न चाहन्छ । जावलाखेल पनि मनाङलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । जावलाखेल १४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।