images

विश्व किर्तिमान सहित स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टोली, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली १९ औं एशियाली खेलकुद प्रतियोगितामा सहभागी भई बिहीवार स्वदेश फर्किएको छ ।

क्वार्टरफाइनलमा भारतसँग पराजित भएसँगै नेपाली क्रिकेट टोली बिहीवारै स्वदेश फर्किएको हो । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित स्वागत गरिएको छ ।

विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआएपनि खेल राम्रो भएको बताए । अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपरेको उनले सुनाए । नतिजा नेपालको पक्षमा नआए पनि यो भ्रमण धेरै सकरात्मक रहेको उनको भनाइ छ ।

‘समग्रमा भन्नुपर्दा एसियन गेम्सको हाम्रो अनुभव राम्रो भयो । सोचेजस्तो नतिजा आएन । तर धेरै सकरात्मक कुराहरु रहे जसरी दीपेन्द्र र कुशलले ब्याटिङ गरे त्यो निकै राम्रो पक्ष हो ।’

क्रिकेटर दीपेन्द्र सिंह ऐरीले रेकर्ड तोड्न पाउँदा धेरै खुशी भएको बताए । उनले मेंगोलियाविरुद्धको खेलमा सर्वाधिक कम बलमा अर्धशतकको रेकर्ड बनाएका थिए । उनले ९ बलमै अर्धसतक बनाएपछि भारतका युवराज सिंहको नाममा रहेको १२ बलमा अर्धसतक बनाएको रेकर्ड तोडेका हुन् ।

त्यस्तै क्रिकेटर कुशल मल्लले पनि ३४ बलमा शतक बनाउँदै सबैभन्दा कम बलमा शतक बनाउने किर्तिमान आफ्नो नाममा बनाएका छन् ।