images

राजेन्द्र लिङ्देनको प्रश्न : पूर्वराजा ज्ञानेन्द्रका कुन गतिविधि लोकतन्त्र विरोधी छन् ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले धार्मिक सद्भाव विथोल्न राजावादीहरु लागेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एक सांसदले पूर्वराजाको गतिविधिबारे आशंका गरेका थिए । शुक्रबार प्रतिनिधि सभाको बैठकबाटै अध्यक्ष लिङ्देनले त्यस्तो गतिविधि के थियो प्रष्ट पार्न आग्रह गरेका हुन् ।

‘केही साथीले राजावादीहरु धार्मिक सद्भाव विथोल्न लागेका छन्, निगरानी गर्नुपर्यो । राजा ज्ञानेन्द्र पनि लोकतन्त्र विरोधी गतिविधिमा संलग्न भएका छन्, उनको गतिविधि ध्यान दिनुपर्‍यो भनेर आग्रह गरे, अनुरोध गरे’ बिहीबार प्रतिनिधि सभाको बैठकमा उठेको विषय अध्यक्ष लिङ्देनले स्मरण गरे ।

‘कुन त्यस्तो गतिविधि रहेछ राजावादीहरुको जसले धार्मिक सद्भाव विथोल्न लागेको छ ?’ अध्यक्ष लिङ्देनले प्रश्न गरे, ‘राजा ज्ञानेन्द्रको कुन त्यस्तो गतिविधि जसले लोकतन्त्रलाई अवरुद्ध गरिराखेको छ र लोकतन्त्र विरोधी भएको छ ? त्यसको म जानकारी लिन चाहन्छु ।’

पूर्व राजा ज्ञानेन्द्र शाह विभिन्न मन्दिरको दर्शन गर्न जाँदा त्याहाँ हजारौ सर्वसाधारणको भीड लाग्न थालेपछि यो विषयमा सांसदहरुले चासो देखाएका हुन् ।