लुम्बिनी । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक सवारी चालक तथा सहचालकको नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
चालकलाई समय अनुकूल आवश्यक नीति, नियम र ज्ञानसहित उनीहरुको तनाव व्यवस्थापनका लागि नियमित स्वास्थ्य परीक्षणमा ध्यान दिनुपर्नेमा सार्वजनिक सवारीसँग सरोकार राख्ने निकायका प्रमुख तथा प्रतिनिधिले जोड दिएका हुन् । सवारी दुर्घटना न्यूनीकरण तथा आन्तरिक व्यवस्थापन सम्बन्धी अभियानलाई सञ्चालन गर्दै आएको पश्चिम नेपाल बस व्यवसायी प्रालिको आयोजनामा चालक तथा सहचालक प्रशिक्षण कार्यक्रममा सहभागी वक्ताहरुले सार्वजनिक सवारीका चालक तथा कर्मचारीले आफ्नो स्वभाव र व्यवहारमा परिवर्तन ल्याउनुपर्ने खाँचो पनि औँल्याएका छन् ।
कार्यक्रममा राजमार्ग सुरक्षा तथा सवारी व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक शोभा पाण्डेले सवारी चालकहरू जिम्मेवार हुनुपर्नेमा जोड दिए । सवारी चालकले छिटो गन्तव्यमा पुग्ने र धेरै यात्रु चढाउने प्रतिस्पर्धा मात्रै नगरेर गुणस्तरीय चालक बन्ने प्रयास गर्न चालकहरुलाई उनले आग्रह गरे । प्रहरी निरीक्षक पाण्डेले सभ्य भाषा, नम्र बोलीसहितको सेवा नै अचुक औषधी भएको बताउँदै अपाङ्ग र आरक्षण सिट कार्यान्वयन गर्नुपर्ने सुझाव दिए ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले सवारी चालक, सहचालक, यात्रुहरु सबै जिम्मेवार भए दुर्घटना न्यूनीकरणमा टेवा पुग्नाका साथै बर्सेनि हुने धनजनको क्षतिसमेत कम गर्न सकिने बताए । सार्वजनिक सवारी साधन प्रयोगकर्ता पनि दुर्घटना न्यूनीकरणका विषयमा उत्तिकै जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए ।
सुरक्षित यात्रा नेपालका अध्यक्ष तथा यातायात मजदुर नेता कृष्णप्रसाद बेलबासेले चालक तथा सहचालकले यात्रुहरुसँग नम्र व्यवहार गर्नुपर्नेमा जोड दिँदै दुर्घटना न्यूनीकरण र सवारी व्यवस्थापनका लागि प्रालिले जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।
प्रालिका सञ्चालक तथा सवारी दुर्घटना न्यूनीकरण तथा आन्तरिक व्यवस्थापनका संयोजक नारायणप्रसाद घिमिरेले सवारी चालक तथा सहचालकले आफ्नो सीप, कला र दक्षता बढाउनाका साथै यात्रुहरुसँगको व्यवहारमा सुधार ल्याउनुपर्ने आवश्यकता औँल्याए । उनका अनुसार प्रालिमा करिब दुई हजार पाँच सय बस व्यवसायीहरु आबद्ध रहेको र सात हजार पाँच सय यातायात मजदुरहरुलाई रोजगारी प्रदान गर्दै आएको छ । संस्थाले दुर्घटना न्यूनीकरण र सवारी व्यवस्थापन प्रशिक्षणलाई निरन्तर सञ्चालन गर्दै आएको उनले बताए । रासस