images

साप्ताहिक राशिफल : यात्रा गर्नैपर्ने हप्तामा कस्ता छन् तपाईंका ग्रहदशा ? के गर्दा हुन्छ उत्तम ?

काठमाडौं । यो हप्ता तपाईं हामी धेरैले यात्रा गर्नुपर्ने हप्ता हो । यतिबेला आफूले नचाहँदा नचाहँदै पनि नसोचेको दिनमा यात्रा गर्नुपर्ने बाध्यता हुन्छ । यस्तो अवस्थामा यो हप्ताको साप्ताहिक राशिफल कस्तो छ त ?

ज्योतिश लक्ष्मीप्रसाद बरालका अनुसार यस्तो छ असोज २८ गतेदेखि कात्तिक ४ गतेसम्मको राशिफल:

मेष – ARIES
साताको प्रारम्भ उत्साहवर्द्धक रहनेछ। रमाइलो यात्राको साइत जुर्नेछ भने चिताएको काम पनि बन्नेछ। व्यापारमा विशेष फाइदा हुनेछ। पुरुषार्थी काम बन्नाले जोश–जाँगर पनि बढ्नेछ। मंगलवारदेखि अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। कामको बोझ थपिनेछ भने सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ। आफ्ना कमजोरीबाट फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। तापनि, शुक्रवारदेखि स्थतिमा सुधार आउनेछ। काम बन्नाले उपलब्धि प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

वृष – TAURUS
बेसुरमा हौसिनाले अर्थक्षय हुन सक्छ। यात्रामा समस्या आउन सक्छ। काममा शुभचिन्तकहरूको सहयोग लिनुहोला। प्रयत्न गर्दा चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। मंगलवारदेखि स्थितिमा सुधार आउनाले प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। टाढिएका साथीभाइ नजिकिनेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सप्ताहान्तमा मालमत्ता हराउने, स्वास्थ्यबाधा र मनको डरले सताउने योग छ। एउटै कामलाई दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

मिथुन – GEMINI
प्रारम्भमा ईर्ष्या गर्नेहरूले अवरोध गरे पनि प्रयत्न गर्दा काम सम्पादन हुनेछ। अध्ययनमा धेरै समय जुट्न नसकिए पनि सामान्य प्रगति हुनेछ। आफ्नो अभियानबाट धेरैले फाइदा उठाउन सक्छन्। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ भने नयाँ अवसर प्राप्त हुनेछ। व्यवसायमा लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। देश–विदेश यात्रा गर्ने साइत जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै मित्रता र प्रेमको बन्धन कसिलो हुने सम्भावना छ। महत्त्वाकांक्षी निर्णय लिन उपयुक्त समय पर्खनुहोला।

कर्कट – CANCER
प्रारम्भमा घरेलु समस्या वा वादविवाद सुल्झाउन जुट्नुपर्ला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा अलि दु:ख पाइनेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। मंगलवारदेखि स्थिति अनुकूल बन्नाले काम बन्नेछ। नयाँ अवसर प्राप्त हुनेछन्। पेसा–व्यवसायमा फाइदा हुनेछ। अनुभवले ज्ञान बढ्नेछ भने मेहनतले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। मिहिनेत गर्दा प्रतिस्पर्धीहरू स्वत: पराजित हुनेछन्, आफ्ना योजनाहरू गोप्य राख्नुहोला। आँट र प्रतिभाद्वारा बिस्तारै अरूलाई उछिन्न सफल भइनेछ।

सिंह – LEO
प्रयत्न गर्दा ठूलै उपलब्धि हातलागी हुने समय छ। सञ्चित कर्मफल प्राप्त हुनाले नयाँ कर्म गर्न मन उत्साहित हुनेछ। शुभचिन्तकहरूले साथ दिनाले चिताएका काम बिस्तारै बन्नेछन्। मंगलवार, बुधवार र बिहीवार भने घरायसी समस्याले अल्झाउन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूबाट सतर्क रहनुहोला। समयमा जुट्न नसक्दा चिताएका काममा केही बाधा पर्नेछ। सप्ताहान्तमा परिस्थिति अनुकूल बन्न सक्छ। सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ। अध्ययनमा राम्रै प्रगति हुनेछ। मेहनतले मनग्य फाइदा दिलाउनेछ।

कन्या – VIRGO
प्रारम्भमा अध्ययन र स्वास्थ्यको चिन्ताले सताउन सक्छ। बलजफ्तीले काम बिग्रनेछ भने अर्थ अभावले समस्या उत्पन्न हुनेछ। अरूका लागि जुट्नुपरे पनि बिस्तारै फाइदा हुनेछ। मंगलवारदेखि व्यापार र उद्योगमा फाइदा हुनेछ। प्रतिस्पर्धीहरू पनि पछि पर्नेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। खर्च लागे पनि व्यवसायका लागि रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। सप्ताहान्तमा परिबन्धले अलमल्याउन सक्छ। गोपनीयता बाहिरिनाले पनि व्यावहारिक समस्या थपिएला। अरूलाई दिएको वचन पूरा नहुन सक्छ।

तुला – LIBRA
प्रारम्भमा व्यावहारिक समस्याले चिताएको काम रोकिन सक्छ। स्वास्थ्य कमजोर रहनेछ। अरूका काममा समेत अलमलिनुपर्ला। मंगलवारदेखि स्थितिमा सुधार आउनुका साथै बोलीको प्रभावले फाइदा उठाउन सकिनेछ। तर्कशक्ति बढ्नेछ भने अध्ययनमा प्रगति हुनेछ। दिगो काम सुरु हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ। बुद्धिको उपयोगले प्रतिद्वन्द्वीहरूलाई वशमा ल्याउन सकिनेछ। मेहनतीहरूलाई समयले पनि साथ दिनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। पराक्रम बढ्नाले नयाँ योजना थालनी गर्न सकिनेछ।

वृश्चिक – SCORPIO
प्रारम्भमा खर्चिलो काममा जुट्नुपर्ने हुँदा अर्थ अभाव देखापर्नेछ। प्रयत्न गर्दा यात्राको साइत जुर्न सक्छ। केही व्यावहारिक चुनौती पनि सामना गर्नुपर्ला। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ र नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। उपहारका साथै स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ। मेहनतले पहिले रोकिएको प्रतिफल पनि दिलाउन सक्छ। मान-सम्मानका साथै विशेष उपलब्धि प्राप्त हुने समय छ।

धनु – SAGITTARIUS
आम्दानी बढ्नुका साथै दिगो काम प्रारम्भ हुनेछ। प्रशस्त दाम पनि हातलागी हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। मंगलवारदेखि भने खर्चको मात्रा बढ्नेछ। समयमा रकम हातलागी नहुँदा काममा पनि समस्या पर्नेछ। एउटै कामलाई दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साथीभाइ समयमा नजुट्नाले दुःख पाइनेछ। शुक्रवारदेखि विभिन्न अवसर प्राप्त हुनाले मनमा आनन्द मिल्नेछ। पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनमा मन रमाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै आँटेको काम सम्पादन हुनेछ।

मकर – CAPRICORN
सुरुमा परिस्थिति अनुकूल नहुँदा काम बिग्रन सक्छ। जिम्मेवारी बढ्नेछन् तर अरूका लागि समय खर्च हुनेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ। दिगो काम सुरु गर्ने मौका छ। आम्दानीका स्रोत थपिनाले लाभांश पनि बढ्नेछ। रोकिएको काम बन्नाले उपलब्धि प्राप्त हुनेछ। सप्ताहान्तमा भने फजुल खर्च बढ्नेछ। अवसरका लागि केही दौडधुप समेत गर्नुपर्ला। घर–परिवारबाट टाढिनुपर्ने हुन सक्छ, तापनि टाढाको यात्रा गर्ने साइत जुर्न सक्छ।

कुम्भ – AQUARIUS
सुरुमा संघर्ष गर्नुपरे पनि सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। पछिको फाइदाका लागि अरूको सेवामा जुट्नुपर्ने हुन सक्छ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। आध्यात्मिक ज्ञानको प्रेरणाले मानसिक सुख प्राप्त हुनेछ। इतिहास एवं धर्म–संस्कृतिको जगेर्नामा रुचि जाग्नेछ। मंगलवारदेखि समयले साथ दिनेछ। प्रतिष्ठित कामले समाजमा स्थापित गराउनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा नोकरी प्राप्त हुन सक्छ। केही समय लागे पनि दिगो काम प्रारम्भ हुनेछ।

मीन – PISCES
सुरुमा केही चुनौतीसँग जुध्नुपर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। काम बिग्रने चिन्ताले पनि सताउन सक्छ। जिम्मेवारी बढ्नेछ र अरूका लागि समय खर्च हुनेछ। तापनि आध्यात्मिक ज्ञानले दुर्भावनाका तरंगहरू समाप्त हुनेछन्। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ भने सप्ताहान्तमा रोकिएको काम बन्नाले उत्साह जाग्नेछ। विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले फाइदा दिलाउनेछ। पुराना कामको चर्चा हुनेछ र उपलब्धिको स्रोत पनि प्राप्त हुनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। – नेपाली पात्रो