images

गेटा मेडिकल कलेजले बुधबारदेखि अस्पताल सञ्चालन गर्दै

धनगढी । कैलालीको गेटा मेडिकल कलजेले आज बुधबारदेखि अस्पताल सञ्चालनमा ल्याउने भएको छ ।

मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएका संरचनामा न्यूनतम स्वास्थ्य सेवासहितको अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो ।

गेटा मेडिकल कलेज अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले बुधबार (आज) देखि आधारभूत स्वास्थ्य सेवासहितको अस्पताल सञ्चालन गरिने जानकारी दिए । सरकारले गेटामा एक सय शय्याको अस्पताल सञ्चालनका लागि स्वीकृती दिएको भए पनि तत्काललाई आधारभूत सेवासहितको अस्पताल सञ्चालन गर्न लागिएको निर्देशक जोशीले बताए ।

आधारभूत उपचार सेवा दिनका आवश्यक तयारी सकिएको अस्पतालले जनाएको छ । स्वास्थ्य सेवा विभागले आधारभूत सेवा सञ्चालन गर्न गेटा मेडिकल कलेजललाई आवश्यक पर्ने उपकरण उपलब्ध गराइसकेको छ । बुधबारदेखि ओपीडी सेवा दिने अस्पतालले क्रमशः आकस्मिक सेवा, आईसीयू सेवा, हाडजोर्नी तथा नसारोग, जनरल सर्जरी, अल्ट्रासाउड, एक्सरे, प्रयोगशाला सेवा र फार्मेसी सेवा सञ्चालन गरिने जनाएको छ ।

गेटामा अस्पताल सञ्चालन गर्न सरकारले ११ जना विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारी समेत गरेर २६ जना जनशक्ति पठाएको छ । दुई जना विशेषज्ञ चिकित्सक बाहेकका सबै जनाले गेटा पुगेर काम थालिसकेका छन् ।

मंगलबार गेटामा पत्रकार सम्मेलन गर्दै अस्पतालले भोलिदेखि ओपीडी सेवा सुरु गर्न लागेको समेत जानकारी दिइएको छ । अस्पताल सञ्चालनका लागि यहाँका सरोकारवाला पक्षसँग अस्पतालले छलफल पनि गरेको छ । रासस