images

प्रसिद्ध निङ्गलाशैनी मन्दिर जात्रा सम्पन्न, २०० राँगा र ४०० बोकाको बलि

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका-२ देहीमाडौँस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती जात्रा सम्पन्न भएको छ ।

महासप्तमीदेखि सुरु भएको जात्रा आज महाअष्टमीमा राँगा र बोकाको बलिसहित सम्पन्न भएको निङ्गलाशैनी धार्मीक सेवा समितिका कोषाध्यक्ष चक्रबहादुर बोहराले जानकारी दिए । प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा दुई सय राँगा र चार सय बोकाको बलि दिइएको छ ।

निङ्गलाशैनी भगवती मन्दिरमा सुदूरपश्चिमकै सबैभन्दा बढी पशु बलि दिने गरिन्छ । भाकलअनुसार राँगा तथा बोकाको बलि दिने प्रचलन रही आएको छ ।

निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा टाढा-टाढाका भक्तजन आएका थिए । निङ्गलाशैनी माताको हजारौँ दर्शनार्थीले दर्शन गरेको जनाइएको छ ।

जात्रामा नेपालका मात्रै नभएर भारतका विभिन्न ठाउँबाट समेत दर्शनार्थी पुगेका स्थानीय दीपेन्द्रबहादुर बोहराले बताए ।

निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।

जात्रालाई मार्यादित र व्यवस्थित बनाउनका लागि देहीमाडौँ क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको दशरथचन्द नगरपालिका-२ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए ।

मेलामा शान्ति सुव्यवस्था कायम गर्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी योगेश खत्रीले जानकारी दिए ।

निङ्गलाशैनी भगवती मन्दिरमा वर्षमा चारपटक पूजाआजा हुने गरेको छ । दसैंको महाष्टमी र चैत्राष्टमीमा लाग्ने जात्रा बलिसहित हुने भए पनि अनन्त चतुर्दशी र मङ्सिर शुक्ल पूर्णिमाका दिन लाग्ने मेलामा बलि दिइँदैन । रासस