images

भारतीय मुद्राका कारण सुस्तायो नेपालको व्यापार, ५०० र १००० को नोट नचलेपछि पुनः भारत फर्किँदै नेपाली

कैलाली । सीमा क्षेत्रका सहरमा रु एकसयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक कारोबारमा प्रतिकूल असर पुगेको छ ।

नेपाली बजारमा भारतीय मुद्राको कारोबार रोकिँदा आर्थिक कारोबारमा समस्या भइरहेको धनगढीका व्यापारी सुभाश चौधरीले बताए ।

“नेपाल राष्ट्र बैंकले रु एकसय भन्दा बढी दरको भारु नोटको कारोबार नगर्न भनेको छ,” चौधरीले भने, “कुनै पनि ग्राहकले भारु नोट लिन मान्दैनन्, यसले गर्दा हाम्रो व्यापारमा नकारात्मक असर पुगेको छ ।”

भारुको कारोबार रोकिँदा काम विषेशले भारतका सहरमा जानुपर्ने सर्वसाधारणलाई बढी समस्या हुने गरेको छ । भारतबाट नेपाल भित्रिन चाहने भारतीय नागरिकसमेत समस्यामा परेका छन् । गौरीफन्टा सीमानाका हुँदै धनगढी भित्रिन चाहने कतिपय भारतीय नागरिक रु पाँचसय दरको भारु नोट नचल्ने सूचना पाएसँगै सीमा क्षेत्रबाट नै फर्किन थालेका छन् ।

नेपाली मुद्रामा कारोबार हुने सीमापारी बनगाउँका व्यापारीले नेपाली ग्राहकसँग नेरुको भारु सटही गर्दासमेत कतिपय ग्राहक ठगिने गरेको अर्को समस्या पनि छ । उनीहरूले सटही गर्दा चलनचल्ती भन्दा कम दिने गरेको मालसामान किनमेलका लागि बनगाउँ बजार पुग्ने नेपाली ग्राहकले बताएका छन् ।

सीमाक्षेत्रका नेपाली बजार क्षेत्रमा खाने तेल, मरमसला, चिनी, दालका साथै लत्ताकपडाको मूल्यको तुलनामा बनगाउँमा केही सुपथ मूल्यमा मालसामान पाइने भएपछि बनगाउँ पुग्नु परेको उपभोक्ताले बताएका छन् । नेपालका बजारमा खाने तेल, चिनी, दाललगायत उपभोग्य सामानको मूल्य चर्को हुँदा आफू सामान किनमेल गर्न बनगाउँ पुगेको कैलाली भन्सारमा भेटिएकी धनगढीकी मनमति विष्टले बताइन् ।

बनगाउँ बजार जाने ग्राहकमध्ये ९५ प्रतिशत ग्राहक नेपाली हुने गरेका छन् । सो क्षेत्रमा व्यवस्थापन भएको गौरीफन्टा बजार केही वर्षअघि हटाउन लगाइएपछि नजिकैको बनगाउँमा बजार व्यवस्थापन गरेर व्यापारीले कारोबार थालेका हुन् । रासस