images

मनकामना पूरा हुने विश्वासमा ३० हजार भन्दा धेरै भक्तजनले गरे पाथीभरा देवीको दर्शन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ)मा दसैँको अघिपछि मात्र ३० हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् ।

अन्य समयभन्दा दसैँको समय पाथीभरामा पूजापाठको लागि उत्तम समय मानिन्छ ।

नवरात्रदेखि कोजाग्रत पूर्णिमाको भोलिपल्टसम्ममा करिब ३० हजार भक्तजनले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

दसैँ र तिहारका समयमा पाथीभराको दर्शन गर्ने दर्शनार्थीको भीड लाग्ने गर्दछ । विगतदेखिकै परम्पराअनुसार नवरात्रयता पाथीभरामा भक्तजनको उल्लेख्य आगमन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

नवरात्रपछि दैनिक हजारौँ सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरिरहेको समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए।

उनका अनुसार अधिकांश जिल्लाबाट पाथीभरा दर्शन गर्न भक्तजन आएका छन् ।

सङ्घीय राजधानी काठमाडौँलगायत सबै साना ठूला सहरबाट समेत भक्तजन दर्शनका लागि आएका छन् ।

नेपाल बाहिर भारतको सिक्किम र दार्जिलिङ क्षेत्रबाट केही भक्तजन पाथीभराको दर्शनमा आएको समितिले जनाएको छ ।
पाथीभरा देवीको दर्शन गरे मनोकाँक्षा पूरा हुने विश्वास गरिन्छ । विशेषगरी बच्चा नहुने समस्या, भएको बच्चाले बोल्न नसक्ने लगायतका समस्या पाथीभराको दर्शनबाट समाधान भएको दर्शन गरेका भक्तजनहरुको भनाइ छ । रासस